नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । संघको आगामी कार्यकालका लागि यही भदौं ६ गते नेपालगन्जमा मतदान हुदैछ । उक्त प्यानलले बिहीबार पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको प्रतिवद्धता अनुसार संघ सबलिकरण र सुदृढिकरण, नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि दवाब, नेपालगन्ज क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थलका लागि पहल, लगानी सम्मेलन, सुख्खा बन्दरगाहको माग, स्टार्ट अप मार्फत उद्यमशिलता प्रबद्र्धन, अवैध आयात निर्यातमा निरन्तर खबरदारी, कृषि उपज प्रबद्र्धन, जडिबुटी व्यवसाय प्रबद्र्धन, निःशुल्क स्वास्थ्य शिविर गर्ने रहेका छन् ।

यस्तै बजार ब्यवस्थापन, पर्यटन प्रबद्र्धन, महोत्सव मेला उद्यमशिलता र औद्योगिक प्रर्दशनी, बैंक तथा वित्तीय संघ संस्थासँग सहजीकरण, सामुहिक बीमा कार्यक्रमको निरन्तरता, सामाजिक सेवा, ब्यवसायी मैत्री नीति र कानूनमा जोड, तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन, ब्यवसायीले विश्राम गर्न महिनामा एक दिन बजार बन्द, ब्यवसायिक सहायता कक्ष तथा परामर्श केन्द्र, कार्यालय ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाइएको छ ।
प्रतिवद्धता पत्र कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियार, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, संघका पुर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी, संयुक्त प्यानलको अध्यक्ष पदका उम्मेदवार चिरञ्जिवी ओली, संघका पुर्वमहासचिव एवम् प्रजातान्त्रिक उद्योग ब्यवसायी संघका नेता विष्णु लामिछाने, होटल ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट, विभिन्न पदका उम्मेदवार, उद्योगी, ब्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पदका उम्मेदवार ओलीले आफुहरु उद्योगी, ब्यवसायीका मुद्दालाई केन्द्र विन्दुमा राखेर अगाडी बढेको बताए । घोषित प्रतिवद्धतालाई पूरा गराउन आफुहरुले पहल कदमी गर्ने ओलीले अठोट लिएका छन् ।

