बाँके(राप्ती सोनारी) : बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ भवनियापुरमा आयोजित साधारण सभाको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष बजारी थारूको अध्यक्षतामा भएको साधारण सभामा संस्थाका लेखापाल चन्द्रबहादुर थारूले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्षको प्रतिवेदन संस्थाका व्यवस्थापक चम्पीकुमारी थारू र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक मेलोना थारूले प्रस्तुत गरे ।
साधारण सभाको अवसरमा विपन्न वर्गका तीन जना विद्यार्थीलाई १२ हजार रुपैयाँ बराबरको छात्रवृत्ति स्वरुप कापी र कलम वितरण गरिएको थियो । त्यसैगरी सहकारीमा आवद्ध ६५ वटा समुहमध्ये सफलता समूह बैशालाई उत्कृष्ट समूह घोषणा गर्दै रजिस्टर, कलम र क्यालकुलेटर प्रदान गरिएको थियो ।
कार्यक्रममा रक्तदान गर्ने १२ जना रक्तदातालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै तीन वटा समूहका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सहकारीका अनुसार गतवर्ष ७ सय २ जना रहेका शेयर सदस्यको संख्या बढेर यस वर्ष ८ सय ७० पुगेको छ । तीन जना कर्मचारी रहेको सहकारीले चालु वर्ष ९ लाख ६२ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाएको छ । सहकारीमा सदस्यहरूले २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म बचत गर्दै आएको बताइएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मिनकुमार थारू, ज्ञान ज्योती ढाका समूहकी अध्यक्ष कमला विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा नयाँ सृजनशील सहकारीका संस्थाका प्रबन्धक दिव्या गुरुङ, जननी सहकारी संस्थाकी व्यवस्थापक अमृता डाँगी, सुनकोसी सहकारी संस्थाकी व्यवस्थापक दिव्या पुन मगर, भुवर भवानी बहुउद्देश्यीय सहकारी संस्थाका लेखापाल सुनिल थारू, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।