नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनियताको सपथ र पदभार ग्रहण गरेका छन् । नेपालगन्जमा आइतबार एक समारोहका बीच अध्यक्ष चिरञ्जीवी ओलीलाई निर्वाचन आयुक्त एवम् अधिवक्ता तिर्थराज ज्ञवालीले सपथ गराएका थिए ।
यस्तै अध्यक्ष ओलीले अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सपथ खुवाए । सपथ तथा पदभार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उद्योगी, ब्यवसायीका आवाजलाई नीतिगत तहसम्म पुर्याउन पहल गर्ने प्रतिवद्धता जनाए । नेपालगन्जलाई पश्चिम नेपालको आर्थिक हब बनाउन, भन्सार तथा सिमा ब्यापार ब्यवस्थापन, लगानी मैत्री वातावरण निर्माण गर्नका लागि समन्वय गर्ने बताए ।
प्रतिनिधि सभाका सांसद एवम् पुर्वमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रत्न खत्री, प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारीलाल अहिर, प्रदेश सांसद बादशाह कुर्मी, मिना श्रेष्ठ, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, संघका निर्वतमान अध्यक्ष टंक धामी, पुर्वअध्यक्षहरु, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, लगायतले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
सो क्रममा संघका नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो ब्यक्तिगत फर्मसहित संघका पदाधिकारी तथा सदस्यबाट संकलित र संस्थागततर्फबाट रसुवाका बाढी पीडितका लागि राहत रकम प्रदान गर्ने घोषणा गरेका थिए । यस्तै सिमा ब्यापारलाई ब्यवस्थापन गर्नका लागि सशस्त्र प्रहरी बललाई एक थान ड्रोन क्यामेरा हस्तान्तरण समेत गरिएको थियो ।
यही भदौं ६ गते सम्पन्न भएको संघको निर्वाचनबाट अध्यक्षमा चिरञ्जीवी ओली निर्वाचित भएका थिए । यस्तै संघको उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य) र उपाध्यक्ष (उद्योग) मा कमल कुमार कार्की भने निर्विरोध निर्वाचित भए । यसैगरी निर्वाचन प्रक्रियाबाट उपाध्यक्ष (महिला) मा रुपा ओझा (सानु) निर्वाचित भइन् ।
संघको महासचिवमा विष्णु श्रेष्ठ, उप-महासचिवमा प्रदीप आचार्य, कोषाध्यक्षमा टीकामणि उपाध्याय तथा सदस्यहरुमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दराम जैसी, जहाँगीर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, नगेन्द्र शाही, शरदप्रसाद रिजाल र सुरजबहादुर भण्डारी निर्वाचित भएका थिए । सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेश जंग बन्जारा तथा एसोसियट सदस्यतर्फ राजीव तलङ्गा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका थिए ।