काठमाडौं : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आइजीपीका पहिलो दाबेदार मानिएका कार्कीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्व सुम्पने निर्णय गरेको हो ।
\वर्तमान आइजीपी चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले नयाँ नेतृत्व चयन गरेको हो। नवनियुक्त महानिरीक्षक कार्कीले अब कात्तिक २७ गतेबाट औपचारिक रूपमा प्रहरी कमाण्ड सम्हाल्नेछन्।
१८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका कार्कीले विद्यमान ३० वर्षे सेवा अवधिका कारण करिब साढे २ वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन्। उनको कार्यकाल १७ चैत २०८४ सम्म रहनेछ। संगठनभित्र उनलाई एक इमान्दार, व्यावसायिक र कुनै ठूलो आर्थिक विवादमा नमुछिएका अधिकृतको रूपमा चिनिन्छ।
नवनियुक्त महानिरीक्षक कार्की को हुन् ?
गुल्मी जिल्लाको मालिका गाउँपालिका-७, घमिरमा २०२९ साल साउन १५ गते जन्मिएका कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा मानविकी, शिक्षाशास्त्र र कानुनमा स्नातक गरेका छन्। २८ वर्ष लामो सेवा अवधिमा उनले फिल्डदेखि नीतिगत तहसम्मको अनुभव बटुलेका छन्। कार्कीको व्यावसायिक जीवन निकै विविधतापूर्ण र चुनौतीपूर्ण जिम्मेवारीले भरिएको छ।
महानिरीक्षक हुनुअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेका उनले गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका बेला उपत्यकाको सुरक्षा कमाण्ड कुशलतापूर्वक सम्हालेका थिए। एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा नै भुटानी शरणार्थी प्रकरण जस्तो देशव्यापी चर्चामा रहेको मुद्दाको अनुसन्धान अघि बढेको थियो।
डीआइजी हुँदा उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरेका थिए। यसका साथै, उनले लागुऔषध नियन्त्रण ब्यूरो, विशेष ब्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा, इन्टरपोल शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी महानिरीक्षकको सचिवालय जस्ता महत्वपूर्ण निकायमा रहेर काम गरिसकेका छन्।
उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत बनेका थिए। कार्कीले संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत पूर्वी टिमोरमा दुई पटक गरी तीन वर्ष र हाइटीमा १८ महिना सेवा गरेका छन्। आफ्नो अब्बल कार्यसम्पादनका लागि उनलाई नेपाल सरकारले ‘प्रबल जनसेवा श्री’ विभूषणबाट सम्मानित गरेको छ भने संयुक्त राष्ट्रसंघ पदक लगायत १४ पटक नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ।
फिल्ड कमाण्ड, अपराध अनुसन्धान, नीतिगत व्यवस्थापन र अन्तर्राष्ट्रिय अनुभवको सन्तुलित सम्मिश्रण भएका कार्कीको नेतृत्वमा नेपाल प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नयाँ मानक स्थापना गर्ने जनअपेक्षा छ।आफ्नो कार्यकालमा उनी ०६६ साल मंसिर २६ प्रहरी नायब उपरीक्षक (डीएसपी), ०७४ साल साउन १९ गते प्रहरी उपरीक्षक (एसपी), ०७९ साल साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ०८१ साल जेठ १३ गते प्रहरी नायब महानिरीक्षक (डीआइजी) हुँदै २००८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा पदोन्नति भएका थिए।