बाँके(डुडुवा) : ‘प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ डुडुवा गाउँपालिकाले बुधबार ‘लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान’ लाई बृहत रुपले मनाएको छ । यही मंसिर ९ गतेबाट सुरु भएको उक्त अभियान मंसिर २४ गते अर्थात् बुधबार सम्म चलेको थियो ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, कानुन ब्यवसायी, शिक्षक, शिक्षिका, बिद्यार्थी, बिद्यालय ब्यवस्थापन समिति, महिला, बालबालिका, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थितीमा बृहत र्यालीसहित अन्तरक्रिया कार्यक्रम गरेको हो । गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले लैंगिक हिंसा अहिले पनि कतिपय परिवार, गाउँ तथा समाजमा कायमै रहेकाले त्यस्ता घटनालाई लुकाएर पीडितहरु बस्न नहुने सुझाव दिए । लैंगिक हिंसा हुने वित्तिकै नजिकैको प्रहरी कार्यालय अथवा स्थानीय न्यायिक समिति समक्ष निवेदन दिएर न्याय माग्नुपर्ने उनीहरुको जोड छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष साहिदा बानोले नेपालको संविधान–२०७२ ले महिलालाई धेरै अधिकार दिएको उल्लेख गर्दै आफुमाथी हुने कुनैपनि हिंसालाई सहन नहुने बताइन् । ‘संविधानले नै महिलालाई धेरै अधिकार दिएको अवस्था छ, अधिकार हुँदा हुँदै हिंसालाई सहेर बस्नु हुदैन,’ उनले भनिन् ‘केही समस्या परेको बेलामा तपाईहरुलाई न्याय दिनका लागि नजिकै प्रहरी कार्यालय छ, गाउँपालिकाको स्थानीय न्यायिक समिति तपाईको साथमा छ ।’ लैंगिक हिंसामा परेका पीडित ब्यक्तिले स्थानीय न्यायिक समितिमा आएर सिधैं उजुरी गर्न सक्ने ब्यवस्था रहेको उपाध्यक्ष बानोले बताइन् ।

सो क्रममा अग्रज कानुन ब्यवसायी प्रह्लाद बहादुर कार्कीले लैंगिक हिंसाको अवस्था, हिंसा गर्ने ब्यक्तिमाथी गरिने कानुनी कारबाहीको अवस्था लगायत विषयमा प्रस्तुतीकरण गरेका थिए । स्थानीय शिक्षक एवम् महिला अगुवा भवानी बोहराले स्वागत गरेको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनकट्टीका महिला प्रहरी हवल्दार टिका थापाले पनि आफ्नो धारणा राखेकी थिइन् । यस्तै कार्यक्रम सञ्चालन लिलावती यादवले गरेकी थिइन् ।
कार्यक्रम गर्नुअघि गाउँपालिका कार्यालयबाट सुरु भएको बृहत र्यालीमा अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्ट ,अन्य जनप्रतिनिधिहरु, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बिद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत उपस्थित भएका थिए । उक्त र्याली बनकट्टी गाउँ हुदै पुनः गाउँपालिका कार्यालयको सभा हलमा आएर कार्यक्रममा परिणत भएको थियो ।








