नेपालगन्ज : ‘भित्री शान्ति विश्व भरि सद्वभाव’ भन्ने नारा सहित विश्व ध्यान दिवस मनाइएको छ । योग समिति नेपाल र चिकित्सक संघ भेरी शाखाको संयुक्त आयोजनामा विश्व ध्यान दिवस विविध कार्यक्रमका साथ मनाइएको हो ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रूपानन्द अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा योग समिति नेपालका अध्यक्ष तथा योगगुरु आयुर्वेदाचार्य गिरिराजले मानव जीवनमा ध्यानको महत्वबारे विस्तृत प्रवचन दिएका थिए । उनले दैनिक जीवनको व्यस्ततालाई केही समय मात्र ध्यानमा समर्पित गर्न सकिएमा मानसिक शान्ति प्राप्त हुनुका साथै शारीरिक रूपमा पनि निरोगी बन्न ठूलो सहयोग पुग्ने बताए ।
ध्यानको नियमित अभ्यासले तनाव, चिन्ता जस्ता मानसिक समस्यालाई कम गर्नुका साथै विभिन्न प्रकारका नसर्ने रोगहरूबाट बच्न पनि मद्दत पुग्ने उल्लेख गर्दै सबैलाई दैनिक व्यस्तताबाट केही समय छुट्याएर ध्यान अपनाउन आग्रह गरे । नेपाल चिकित्सक संघ भेरी शाखाका प्रमुख डा. अधिकारीले चिकित्सकीय दृष्टिले ध्यानको प्रभावका विषयमा जानकारी दिँदै ध्यानले उच्च रक्तचाप, अनिद्रा, मानसिक तनाव र भावनात्मक असन्तुलनमा लाभ पुर्याउने बताए ।
ध्यानलाई जीवनशैलीमा समावेश गर्दा व्यक्ति मात्र नभई परिवार र समाज पनि स्वस्थ रहने बताए । दैनिक जीवनयापनको व्यस्तताका कारण आफ्नो शरीर र मनको हेरचाहका लागि समय निकाल्न नसक्ने व्यक्तिहरूका लागि ध्यान अत्यन्तै उपयोगी र लाभदायी हुने सरोकारवालाले बताए ।
सो कार्यक्रममा योग समिति नेपालका योग प्रशिक्षक, आजीवन तथा साधारण सदस्य, नेपालगन्जका चिकित्सक, लगायत चार सयभन्दा बढी योगी तथा स्वास्थ्यप्रेमीकोसहभागिता रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी ‘सुमित्रा’ ले जानकारी दिइन् ।
कार्यक्रम सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए । कार्यक्रममा ४ सय बढी सहभागीले सामूहिक रुपमा ध्यान अभ्यास गरेका थिए । विश्व ध्यान दिवसले मानसिक शान्ति, आत्मचिन्तन र स्वास्थ्यप्रति सचेत बनाउने आयोजकको विश्वास छ ।