नेपालगन्ज : नेपालगन्जमा पार्श्वसंगीत सहित कविता प्रस्तुतिको कार्यक्रम आयोजना हुने भएको छ। अन्तरालले कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू पार्श्व संगितसहित प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम पुस १९ गते शनिबार आयोजना हुनेछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।
नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।
कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । `मैले कविता लेख्न सिकेको शहरमै पहिलोपटक एकल कविता प्रस्तुति हुन लागेकोमा म उत्साहित छुँ,' कवि बीपीले भने, 'पार्श्वसंगितले कविता श्रवणलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ।'
पार्श्व सांगितका लागि गायक महेन्द्र सेडाई सहितका संगीतकर्मीहरुले साथ दिनेछन्। हाल कार्यक्रमका लागि रिहर्शल भईरहेको छ।
अन्तराल शृङ्खला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भईरहेको आयोजकले जनाएको छ। `कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरुले मन पराउने हाम्रो विश्वास छ,' अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, 'अन्तरालको यो मंचमा आगामी महिनाहरुमा कला, साहित्य, सगीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ।
कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरु पलेंटीमा बस्ने प्रवन्ध मिलाईएको आयोजकले जनाएको छ। कार्यक्रम अघिको आधा घण्टा भलाकुशारी र जलपानका लागि छुट्याईएको छ। कार्यक्रम शुरु हुनु १० मिनेट अघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ । पाँच सय रुपैयाँको टिकट सुरुमा बुकिङ गर्नेहरूलाई ५० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ । टिकट अन्तरालको कार्यालय र विभिन्न क्याफेहरुमा उपलब्ध छ।