नेपालगन्ज : महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती समारोहको अवसरमा रारादेखि ताजमहलसम्म नियात्रा कृति विमोचन र परिचर्चा गरिएको छ । कृतिकार नरेन्द्र देवकोटाको उक्त कृतिको नेपालगन्जमा शनिबार एक समारोहका बीच विमोचन र परिचर्चा गरिएको हो ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बोल्ने बक्ताले स्वर्गिय महाकवि देवकोटाको योगदानको चर्चासँगै कृतिका कारेमा प्रकाश पारेका थिए । कृतिमाथी डा. राजकुमार थारु र ईश्वरी रिजालले समिक्षा गरेका थिए ।
भेरी साहित्य समाजका अध्यक्ष मीना बरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य(सचिव) एवम् वरिष्ठ साहित्यकार सनत रेग्मीले महाकवि देवकोटाको समग्र ब्यक्तित्व, कृतित्व र नेपाली साहित्यलाई अन्र्तराष्ट्रिय जगतमा पुर्याउन गरेको योगदानको चर्चा गर्दै देवकोटाको बिराट प्रतिभा भएका विभिन्न आधारहरु उल्लेख गरे ।
कार्यक्रमका मुख्य वक्ता एवम् प्रतिष्ठानका पुर्वप्राज्ञ हरि तिमिल्सिनाले नरेन्द्र देवकोटाको कृतित्व र ब्यक्तित्व तथा महाकवि स्वर्गिय देवकोटाको जीवनीबारे प्रकाश पारेका थिए । कार्यक्रममा कृतिकार देवकोटाले कृति लेखनको अनुभव सुनाएका थिए । देवकोटाको यो दोस्रो कृति हो । यसअघि २०८१ सालमा पनि भेरी साहित्य समाजले उनको पहिलो कृति अनुभुति कविता संग्रह प्रकाशित गरेको थियो ।
कार्यक्रममा स्वर्गिय देवकोटाको योगदान र ब्यक्तित्वबारे प्रा.डा. गोपालप्रसाद शर्मा अधिकारीले प्रकाश पारेका थिए । सो क्रममा वरिष्ठ लेखक एवम् साहित्यकार नरेन्द्रजंग पिटर, साहित्यकार महानन्द ढकाल, किरण आचार्य, भारतका साहित्यकार सारिक रब्बानी लगायतले स्वर्गिय देवकोटाप्रति श्रद्धाञ्जली र कृतिकारलाई शुभकामना दिएका थिए ।