नेपालगन्ज : वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार स्वर्गीय प्रेम प्रकाश मल्लको नाममा स्थापित पुरस्कार यसपटक प्राध्यापक जगतप्रसाद उपाध्यायले प्राप्त गरेका छन् । मल्ल परिवारको सहयोगमा भेरी साहित्य समाज केन्द्रिय समिति नेपालगन्जले प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार कोष स्थापना गरेको थियो । समाजले हरेक वर्ष उक्त पुरस्कार वितरण गर्दै आएको छ ।
स्वर्गीय प्रेमप्रकाशको ९१ औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार उपाध्यायलाई ५१ हजार १ सय ११ नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सहप्राध्यापक डा. राजन सुवाल, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत लगायतले पुरस्कृत गरेका हुन् ।
बि.सं. १९९३ साउन ११ गते जन्मेका बहुप्रतिभाका धनी प्रेम प्रकाशको २०७२ वैशाख ११ गते निधन भएको थियो । मल्लका ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ’, ‘वनकी म चरी’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरू चर्चामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथी सुवालले स्वर्गिय प्रेमप्रकाशले राष्ट्रका लागि धेरै योगदान गरेको बताए । सोही कार्यक्रममा स्वर्गिय प्रेमप्रकाशका रचनावली कृति पनि विमोचन गरियो । भेरी साहित्य समाजले प्रकाशनमा ल्याएको उक्त कृतिमा स्वर्गिय प्रेमप्रकाशका विभिन्न रचनाहरु समावेश गरिएको छ ।
कार्यक्रममा सम्मानित ब्यक्तित्व प्राध्यापक उपाध्याय, वरिष्ठ साहित्यकार किरण आचार्य, बर्दिया बहुमुखी क्याम्पसका पुर्वप्रमुख टुकनाथ भुषाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य हरि तिमिल्सिना, स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्ल लगायतले स्वर्गिय प्रेमप्रकाशको योगदानबारे मन्तब्य र रचनामार्फत चर्चा गरेका थिए, भने साहित्यकार हरि सुवेदीले स्वर्गिय प्रेमप्रकाशका रचनावली कृतिमाथी समिक्षा गरेका थिए ।

यस्तै समाजका केन्द्रिय सचिव प्रभात सुवेदीले स्वर्गिय प्रेमप्रकाशको गीत प्रस्तुत गरेका थिए । भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम सञ्चालन महासचिव सुन्दर गुरुङले गरेका थिए । कार्यक्रममा स्वर्गिय प्रेमप्रकाशका छोरी ज्वाई बखत मल्ल, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, ज्ञानोदय पुस्तकालय कोहलपुरका अध्यक्ष एकराज शर्मा, विभिन्न साहित्यकारहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।