नेपालगन्ज : अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ । होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक ‘न्यु इयर इभ’ गर्न लागिएको जानकारी दिएको हो । होटलका जनरल म्यानेजर गिरीराज पाण्डेले पारिवारीक वातावरणमा अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
कार्यक्रम अवलोकन गर्न निःशुल्क प्रवेश गर्ने ब्यवस्था मिलाइएको उनले बताए । जनरल म्यानेजर पाण्डेका अनुसार बुधबार (भोलि) बेलुका ७ बजेबाट सुरु हुने कार्यक्रम राती १२ बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायिका सदिक्षा कट्टेल, गायक करण परियार, निशान भट्टराई र दिप काफ्लेको बेजोड प्रस्तुती रहने भएको छ ।
होटल प्राङगनमा सञ्चालन हुने कार्यक्रम अवलोकन गर्न आउने दर्शकले सहुलियत दरमा (१ सय रुपैयाँदेखी ५ सय सम्मका) परिकार खान पाउने गरि स्टल राखिने पाण्डेले बताए । कार्यक्रम अवलोकन गर्नका लागि करिव २ हजार ५ सय दर्शक आउने होटलले अपेक्षा गरेको छ । ‘हाम्रो यहाँ नितान्त पारिवारीक वातावरणमा कार्यक्रम हुनेछ,’ उनले भने, ‘शान्ति सुरक्षाको लागि स्थानीय प्रहरी, प्रशासनसँग सहयोग मागेका छौं ।’
चिसो मौसमलाई मध्यनजर गर्दै कार्यक्रम स्थलमा टेण्ट र 'क्याम्प फायर' को ब्यवस्था पनि गरिएको होटल पौवा नेपालगन्जका पब्लिक रिलेसन हेड नेत्रप्रसाद भण्डारीले जानकारी दिए । ‘कार्यक्रम अवलोकन गर्नका लागि परिवार सहित आउन हामीले निमन्त्रणा गरेका छौं,’ उनले भने ।
होटलका एजुकेटिभ सेफ दिपक भण्डारीले पौवाले गुणस्तरिय नेपाली परिकारहरु आफ्ना पाहुनालाई खुवाउने बताए । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा होटल पौवाले नेपालगन्जमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो । नेपालगन्जसँगै पौवाका ५ वटा शाखामा निःशुल्क प्रवेशको ब्यवस्था सहित ‘न्यु इयर इभ’ कार्यक्रम गर्न लागिएको होटलले जनाएको छ । पौवाले नेपालगन्जमा ५ तारे स्तरको सेवा दिने उद्देश्य सहित पुर्वाधार निर्माणको काम पनि गरिरहेको छ ।
पौवाको हाल देशभर १७ वटा शाखा सञ्चालनमा रहेको बताइएको छ । होटल पौवाका शेयर सदस्य (लगानीकर्ता) समेत रहेका अग्रज पत्रकार शरण कर्माचार्यले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अन्य होटलमा आयोजना हुने न्यु इयर इभ भन्दा होटल पौवामा हुन लागेको कार्यक्रम केही फरक देखिएको बताए ।
