नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीमा रहेको इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
बाँके प्रहरीका अनुसार यही माघ १ गते बिहान करिब १०ः२४ बजे डुडुवा गाउँपालिका-३ बनकट्टी गाउँको प्रयोगमा नरहेको एक इनारमा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । इनारभित्र पहिचान खुल्न नसकेको र सडिगलिसकेको अवस्थामा महिलाको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक अंगुर जिसीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको थियो ।
उक्त शवलाई सशस्त्र प्रहरी बलको सहयोगमा इनारबाट बाहिर निकालेर पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको थियो । शवको विभिन्न विधि र आधुनिक प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा मृतक डुडुवा गाउँपालिका–३ बनकट्टीकी २१ वर्षीया बसन्ती गोडिया भएको पुष्टी भएको कार्यालयले जनाएको छ । मृतकले लगाएको कपडा र गरगहना तथा परिवारजनबाट प्राप्त विवरणका आधारमा शवको सनाखत गरिएको एसपी जिसीले बताएका छन् ।
अनुसन्धानका क्रममा बसन्ती गोडिया केही समयदेखि भारतको नानपारास्थित मामा घरमा बसेको खुलेको भएपनि मामासँग सम्पर्क गर्दा त्यहाँ नगएको जानकारी प्राप्त भएपछि परिवारजनले कपडा र गरगहनाका आधारमा शव पहिचान गरेका हुन् । प्रहरीका अनुसार शव सडिगलिसकेको अवस्थामा फेला परेकाले गोडियाको हत्या करिव एक महिनाअघि नै भएको देखिएको छ ।
पोष्टमार्टम रिपोर्टमा घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको उल्लेख छ, जसबाट उनको हत्या भएको पुष्टी भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा डुडुवा गाउँपालिका-३ बनकट्टी निवासी २५ वर्षका राकेश बर्मालाई प्रहरीले पक्राउ गरेको छ । अविवाहित युवक बिन्देश्वरी कुर्मीका छोरा हुन् ।
उनीमाथी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धि कसुरमा माघ ११ गते पक्राउ गरी माघ १२ गते बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।