दाङ : साढे चार लाख बढी नगदसहित प्रहरीले दाङको घोराहीबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ रझेनामा आइतबार राती घरमा भइरहेको जुवामा छापा मारेर प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको हो ।
रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख(एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घोराहीको रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताएका छन् ।
घरमा कौडा खेलिरहेको अवस्थामा जुवाको खालबाट दाङ घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षका रुपलाल बिक, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षका मानबहादुर बुढा मगर, ५० वर्र्षका रगेन्द्र श्रेष्ठ, घोराही १५ का ५७ वर्षका शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज ओली, घोराही १४ का २९ वर्षीय लालबहादुर अमललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी घोराही ५ का ५७ वर्षका नवीन पछाइ, घोराही १५ का ५७ वर्षीय महावीर ओली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, घोराही ४ गोग्लीका ६२ वर्षका श्रीधर अधिकारी, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षका विकास खत्री, सोही उमेरका प्रमोद गौतम, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षका यज्ञ खड्का, सोही वडाका २४ वर्षका कमल घर्ती, घोराही १९ का ५६ वर्षका ईश्वर रायमाझी र घोराही १६ निवासी ३४ वर्षीय रवि गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्तिविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी प्रवक्ता(डिएसपी) मुकुन्द रिजालले बताए । जुवा भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट करिव तीन किलोमिटर उत्तरमा पर्छ ।