धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ आगामी निर्वाचनबाट सधैंका लागि बन्द हुने उद्घोष गरेका छन्। धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई, नेतासँग ‘कन्ट्राक्ट’ गर्ने युगको सुरूआत भएको बताएका हुन्।
उनले भने, ‘जनताको अधिकारलाई जनताको मुद्दालाई सुदूरपश्चिमको मुद्दालाई सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त एउटा बन्द हुनुपर्छ कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको सटर बन्द गराउनुस् सटर बन्द हुन्छ। कुशासनको सटर बन्द गर्ने हो। बेथितिको सटर बन्द गर्ने हो। बेरोजगारी अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक २१ गते। इतिहास लेख्ने हो भोट हाल्ने होइन।’
लामिछानेले वर्षौंदेखि जनताका मुद्दालाई निर्वाचनको एजेन्डा मात्र बनाएर अल्झाइराख्ने राजनीतिक परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए। जनतासँग पाँच वर्षको ‘कन्ट्रयाक्ट’ नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित कन्ट्र्याक्ट गरेको दाबी गर्दै उनले ५ वर्षको स्थायी सरकारको अपेक्षा गरे।
‘रास्वपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणापत्रमा बल्र्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ। पाइँदैन जनताको माग हो त्यसलाई पूरा गर्ने हो। त्यसकारणले हामीले ५ वर्षको स्थायी सरकार यसपटक मागेका छौँ।
नेपालको इतिहासमा पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ,’ उनले भने, ‘जनताले भोट दिने जनतालाई नेताले वाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने अब यस्तो चल्दैन। अब यस्तो चल्दैन। वाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो जनताले सजाय पाउने होइन। यसको लागि ५ वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौँ।’
वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने र जनता सधैं पीडित बन्ने अवस्थाको अन्त्य गर्न रास्वपा मैदानमा आएको उनको भनाइ छ।