नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जयकेश सिंहका पिता/माताको स्मृतिका अवसरमा मंगलबार माल्यार्पण गरिएको छ । सिंहले आफ्ना पिता स्वर्गिय तप्तबहादुर सिंह र माता स्वर्गिय हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघा २ कठ्ठा जग्गा बालगृह निर्माणका लागि २०६७ मा सरकारलाई दान गरेका थिए ।
स्व. सिंहको स्मृति दिवसका अवसरमा बाल सुधार गृहमा एक कार्यक्रम आयोजन गरेर दाताको सम्मान र स्मृति स्वरुप स्व.सिंहको शालिकमा फूल माला अर्पण गरिएको हो । सिंहको २०७१ चैत २४ गते स्वर्गारोहण भएको थियो । नेपाल सरकारले २०७९ मा सुधार गृह परिसरमा दानवीर सिंह दम्पतीको अर्धकदको शालिक निर्माण गरेको थियो ।
बाल सुधार गृहमा हाल २ सय २ जना बालकहरु आश्रित छन् । बाल गृह सम्बद्ध सरोकारवाला, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा र बालबालिकाको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सिंह परिवारको जग्गादानले बालगृह निर्माण मात्र नभई बालबालिकाको भविश्य निर्माणमा पनि योगदान पुगेको उल्लेख गरे ।
बालबालिकाले आफुलाई सुधार गर्ने अवसरका रुपमा लिनुपर्ने भन्दै बाल सुधार गृहको प्रभावकारी सञ्चालनमा सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गरे । जग्गादाता सिंहले स्वर्गिय माता र पिताको मानव सेवा भावको प्रसंग कोट्याउँदै दानको सदुपयोग भएकोमा खुसी प्रकट गरेका थिए । सरकारले बाल सुधार गृहको प्रभावकारी सञ्चालनका लागि गर्नुपर्ने दायित्व बिर्सन नहुने कुरामा जोड दिए ।
बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) अंगुर जिसी, अन्य सुरक्षा अंगका प्रमुखहरु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, एड्भोकेसी फोरमका बसन्त गौतम लगायतको उपस्थिती रहेको थियो ।



