नेपालगन्ज : महिलालाई आय, आर्जनतर्फ डोर्याउन १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु गरिएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आयोजनामा नेपालगन्जमा सोमबारबाट उक्त तालिम सुरु गरिएको हो ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथी, लुम्बिनी प्रदेश सभा सदस्य एवम् लेखा समितिका सभापति माया पुनले महिलालाई आत्मनिर्भर बनाउन यो तालिम ल्याइएको बताइन् । ‘महिलालाई आफ्नो खुट्टामा उभ्याउनका लागि यस्ता तालिम महत्वपूर्ण हुन्छन्, मैले लुम्बिनी प्रदेशमा योजना गरेकी थिए, प्रदेश सरकारको बजेटमार्फत तपाईहरुले यो तालिम लिदै हुनुहुन्छ,’ उनले भनिन् ।
महिलाहरु आर्थिक रुपले आफ्नो खुट्टामा आफै उभिन सक्ने हुनुपर्ने सांसद पुनले बताइन् । पर्यटन डिभिजन कार्यालयका वरिष्ठ अधिकृत कृष्ण बिष्टको सभापतित्वमा भएको उद्घाटन शत्रमा नेपाल मगर संघ लुम्बिनी प्रदेशका सदस्य कृष्ण पुनले यस्तो तालिम महिलाका लागि महत्वपूर्ण रहेको बताए ।
सो क्रममा वरिष्ठ पत्रकार एवम् समाजसेवी हेमन्त कर्माचार्य, समाजसेवी प्रमोदकुमार श्रेष्ठ, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य साहिल हल्वाई, महिला अगुवा सुलोचना तामाङ लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।
तालिम कार्यक्रमका संयोजक भुमण्डल प्रकाश श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन लालबहादुर थापामगरले गरेका थिए । तालिममा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानका ४० जना महिलाको सहभागिता रहेको छ ।
उनीहरुलाई दुई सिफ्ट गरेर तालिम दिइने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । तालिममा आदिवासी जनजाती, खसआर्य, मुस्लिम, मधेसी, थारु लगायत विभिन्न समुदायका महिलाहरुको सहभागिता रहेको छ । लुम्बिनी प्रदेशबाट बजेट हालेर आफुहरुलाई तालिम लिन अवसर दिएकोमा महिलाहरुले सांसद पुनको प्रशंसा गरेका छन् ।