नेपालगन्ज : जुवातास खेलिरहेको अवस्थामा बाँकेमा १३ जना पक्राउ परेका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित मिनीपार्क एण्ड रिसोर्ट प्रा.लि.मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
शुक्रबार राती करिव साढे १ बजेतिर उक्त रिसोर्टको कोठा नम्बर १ सय ५ मा हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले छापा मारेर नगद १ लाख २८ हजार ३ सय १० रुपैयाँसहित पक्राउ गरेको थियो । जुवाडेको साथबाट नगद रुपैयाँसहित खेलिरहेको २ गड्डी र नखोलेको ३ गड्डी तास पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ६० वर्षीय प्रमोद के.सी., खजुरा गाउँपालिका–८ का ३३ वर्षीय एकराम हुसेन, खजुरा–३ का ४२ वर्षीय दीपक कँडेल, खजुरा–८ का २७ वर्षीय अब्दुल मिया, खजुरा–८ का ३० वर्षीय साफिक खाँ, बैजनाथ गाउँपालिका–५ का ३० वर्षीय नबि हुसेन, बैजनाथ–५ कै ३८ वर्षीय जमालु दिन, जानकी गाउँपालिका–३ का ३६ वर्षीय साकिर अली बगवान रहेका छन् ।
यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ७ बर्दियाका ३५ वर्षीय दुर्गा बोहरा, बारबर्दिया–६ का ३३ वर्षका छविलाल गिरी, बारबर्दिया–६ कै २७ वर्षीय सुजन पुरी, बारबर्दिया–७ का ३० वर्षीय नविन शाही तथा बारबर्दिया–५ का ४६ वर्षीय प्रेम गिरी पनि पक्राउ परेका छन् । पक्राउ परेका ब्यक्तीहरु विरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता पातलीले बताए ।