कोहलपुर : कोहलपुरमा वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरूको अनुभव, सीप, पुँजी र प्रविधिलाई स्थानीय उत्पादन तथा उद्यमसँग जोड्ने उद्देश्यले पुनः एकीकरण कार्यक्रम गरिएको छ । आप्रवासी श्रमिक संरक्षण सञ्जालको संयोजन तथा कोहलपुर नगरपालिका नगर कार्यपालिका कार्यालय रोजगार सेवा केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको सीप र अनुभवलाई स्थानीय विकासमा उपयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले वैदेशिक रोजगारमा जान चाहनेदेखि विदेशबाट फर्किएकासम्मलाई लक्षित गर्दै नगरपालिकाले छुट्टै शाखा स्थापना गरी सीपमूलक तथा पुनः स्थापना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
नगर प्रमुख आचार्यले वैदेशिक रोजगारीमा रहेका व्यक्तिका परिवारलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सामाजिक सुरक्षासम्बन्धि सेवा समेत प्रदान गर्दै आएको उल्लेख गरे । “पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै श्रम संकुचन हुँदै जानु चुनौतीपूर्ण बनेको छ,” उनले भने, “अब सीपयुक्त जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक छ ।”
उपप्रमुख संगिता सुवेदीले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप र अनुभव नै स्थानीय सरकारको महत्वपूर्ण पुँजी भएको बताइन् । उनले विदेशमा सिकेको ज्ञान र प्रविधिलाई स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिइन् ।
आप्रवासी श्रमिक संरक्षण सञ्जालका अध्यक्ष खड्क चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले प्रकाश पारेका थिए । कार्यक्रममा सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकसहित जनप्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूलाई लोकराज सञ्जाल र दिपेन्द्र जोशी लगायतले सहजीकरण गरेका थिए । वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पुनःस्थापनासँगै उनीहरूको सीप र अनुभवलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउन कार्यक्रम गरिएको रोजगार सेवा केन्द्रका संयोजक वर्माले बताए । त्यसक्रममा सहभागीहरुले आफ्नो अनुभव तथा स्थानीय सरकारसँगको अपेक्षाहरु खुलेर राखेका थिए ।