बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिका वडा नम्बर १ मा ‘नमुना थारु गाउँ’ घोषणा गरिएको छ । च्यामा गाउँमा बुधबार एक औपचारिक समारोहका बीच नमुना थारु गाउँ घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले औपचारिक कार्यक्रमका बीच घोषणा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले विभिन्न प्रक्रियाहरु पुरा गरेर नमुना थारु गाउँ घोषणा गरिएको बताए । राणाकालिन ‘थारु सहिद’ स्वर्गिय बैजनाथ थारुको नामबाट गाउँपालिकाको नामाकरण भएको स्मरण गर्दै अध्यक्ष शाहीले कला, सँस्कृति र भेषभुषालाई विशेषगरी थारु समुदायले जगेर्ना गर्दै आएकाले पर्यापर्यटन र सँस्कृतिसँग यसलाई जोड्न नमुना थारु गाउँ घोषणा गरिएको प्रष्ट्याए ।
च्यामा गाउँमा बि.सं. २००५ सालदेखी थारु समुदायहरु निरन्तर रुपले बसोबास गर्दै आएकाले यो धेरै पुरानो बस्ती पनि भएको अध्यक्ष शाहीको भनाई छ । उनका अनुसार यहाँका ९९ वटा सबै घरहरु थारु समुदायका छन् । नमुना थारु गाउँको माध्यमबाट थारु समुदायले आफ्नो कला, सँस्कृति र भेषभुषाको संरक्षण र सम्बद्र्धन गर्न सक्ने उनको सुझाव छ । नमुना थारु गाउँमा पर्यापर्यटनमार्फत गाउँमा स्वरोजगार सिर्जना गर्न सक्ने पर्याप्त आधार रहेको अध्यक्ष शाहीले जोड दिए ।

यस्तै गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले परापुर्व कालदेखी च्यामा गाउँमा बसोबास गर्दै आएका रैथाने भुमीपुत्र थारु समुदायको कला, सँस्कृति र भेषभेषाको जगेर्ना गर्न नमुना थारु गाउँ प्रभावकारी बन्ने विश्वास गरिन् । नजिकै बाँके राष्ट्रिय निकुञ्ज रहेकाले पर्यापर्यटनलाई जोडेर थारु गाउँको विकास गर्नुपर्छ भनेर नमुना थारु गाउँ घोषणा गरिएको उनले बताइन् । ‘थारु गाउँको विकास र स्तरोन्नतीको लागि केही सहयोग स्थानीय सरकारले गरेको छ, लुम्बिनी प्रदेश सरकारले पनि यहाँ ठाटी घरसहित विभिन्न संरचना निर्माण गरिदिएको छ, अब यहाँका स्थानीय बासिन्दा आफैले पनि यहाँको कला, सँस्कृति र भेषभुषाको जगेर्ना गर्नुहुनेछ,’ विशिष्ट अतिथी रोकायले भनिन् ।
बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लको अध्यक्षतामा आयोजित घोषणा गाउँपालिका स्तरिय बडघर सञ्जालका अध्यक्ष चन्द्रबहादुर थारु र बैजनाथ–१ च्यामा गाउँका बडघर रामविलास थारुले नमुना थारु गाउँ घोषणा भईसकेपछि कला, सँस्कृति र भेषभुषाको जगेर्नासँगै यहाँको प्रचार–प्रसार गरेर स्वरोजगारी सिर्जना गर्नुपर्ने सुझाव दिएका थिए । गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवालीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बैजनाथ–४ का वडाअध्यक्ष प्रेमबहादुर शाही, कार्यपालिका सदस्यद्धय रुपा थापा र भुमीसरा राना, बैजनाथ–१ का वडा सदस्य कृष्ण थारु, गाउँपालिकाका कर्मचारीहरु, नमुना थारु गाउँ ब्यवस्थापन समितिका अध्यक्ष मेघराज थारु, थारु समुदायका अगुवा, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।






