बाँके(अगैया) : राप्ती सोनारी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिमाथी दुर्व्यवहार भएको छ । गाउँपालिकामा बुधबार दिउँसो ३ बजेतिर कार्यालय परिसरभित्र कर्मचारी तथा जनप्रतिनिधिमाथि दुर्व्यवहार भएको भन्दै गाउँपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले विज्ञप्ती जारी गर्दै केही व्यक्तिहरुको होहल्ला, धम्कीपूर्ण अभिव्यक्ति तथा अमर्यादित गतिविधिले सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गरेको ठहर गरेका छन् ।
कार्यालय परिसरमा प्रवेश गरी राष्ट्रसेवक कर्मचारी तथा निर्वाचित जनप्रतिनिधि माथि गरिएको दुर्व्यवहारले कर्मचारीहरूको मनोबल कमजोर बनाएको जनाइएको छ । साथै, कर्मचारी र जनप्रतिनिधिहरू कानुन, विधि र प्रक्रिया अनुसार सेवामा प्रतिबद्ध रहेको अवस्थामा यस्ता गतिविधि कुनैपनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिकाले असहमति, गुनासा वा सुझाव भए प्रचलित कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्न आग्रह पनि गरेको छ ।
व्यक्तिगत आक्रोश, दबाब, धम्की तथा अमर्यादित व्यवहार प्रदर्शन गर्नु कानुन र सामाजिक मर्यादा विपरीत कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गर्दै गाउँपालिकाले घटनाबारे आवश्यक अध्ययन, तथ्य संकलन तथा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
गाउँपालिकाले कर्मचारी तथा जनप्रतिनिधिहरूको सम्मान, सुरक्षा र मर्यादा कायम राख्दै निर्बाध रूपमा सार्वजनिक सेवा प्रवाह गर्न सधैं प्रतिबद्ध रहेको जानकारी गराएको छ ।
