नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको दिगो फोहोर व्यवस्थापनको लागि अब केवल नीति मात्र होइन कडाईका साथ नियमन र नियन्त्र प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । बास नेपालले नेपालगन्जमा आयोजना गरेको फोहोर व्यवस्थापनमा नेतृत्व र स्थानीय युवाहरुको संलग्नता विषयक कार्यक्रममा सहभागीहरुको यस्तो साझा धारणा आएको हो ।
हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले 'अब स्रोत र साधनको अभाव छ' भन्ने समय नरहेको र नेपालगन्ज उपमहानगरपालिकाको इच्छाशक्तिको आवश्यकता देखिएको बताए ।
उनले नेपालगन्जमा थन्कीएर रहेको पूराना नगरबसहरुको परिमार्जन मार्फत फोहोर संकलन गाडीको रुपमा प्रयोग गर्न सकिने तथा उपमहानगरपालिको उपलब्ध स्रोत र साधानको पूर्ण सदुपयोग मार्फतसफा शहरको रुपमा रुपान्तरण गर्न सकिने बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का टोल विकास संस्थाका संयोजक ओबिराज आचार्यले अब विगतको जस्तो अवस्था नरहेको बौद्धिक रुपमा समाज रुपान्तरण भई सकेकोले कडा रुपमा निगरानी, नियन्त्रण र नियमनमा ध्यान दिनुपर्ने तथा फोहोर व्यवस्थापनको लागि फोहोर नै कम गर्ने प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए ।
फोहोर व्यवस्थापनमा समुदायको संलग्नता गराउने उदेश्यका साथ आयोजित कार्यक्रममा बोल्ने अधिकाशं सहभागीहरुले फोहोर व्यवस्थापन केवल उपमहानगरपालिकाको जिम्मेवारी मात्र नभएर स्थानीयहरुको पनि त्यती नै भूमिका रहेको बताएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी रहेका शिक्षक तथा विद्यार्थीहरुले हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत संचालित विद्यालयमा शून्य फोहोर कार्यक्रमले विद्यालयका साथै घरमा समेत फोहोरको उच्चतम् व्यवस्थापन गर्न सकिने शिक्षा प्राप्त भएको र स्रोतमा नै फोहोर वर्गिकरण गर्न थालिएको उदाहरणहरु प्रस्तुत गरेका थिए ।
६० जना सहभागी रहेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट सहभागीहरुबाट उठाएका सवालहरुको जवाफमा बोल्दै वातावरण शाखा प्रमुख प्रकाश डिसीले स्थानीयहरुमा आएको परिवर्तनको जागरुपताले उपमहानगरपालिकालाई हौसला प्राप्त भएको र आगामी कार्ययोजनामा दिगो फोहोर व्यवस्थापनको रणनीति तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक, गैसस तथा साझेदार विकास शाखा प्रमुख कृष्ण प्रसाद जोसीले फोहोर व्यवस्थापनमा टोल विकास संस्थालाई नै जिम्मेवार बनाउने पर्ने र सो कार्यको लागि पूर्ण अधिकार समेत प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
सो कार्यक्रममा बास नेपालका परियोजना अधिकृत रविन्द्र बोहराले नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको वर्तमान अवस्था र भावि समाधानको उपाए बारेको प्रस्तुतिकरण गरेका थिए ।उक्त कार्यक्रमको सहजिकरण बास नेपालका परियोजना संयोजक मन भण्डारीले गरेका थिए । काकोकाला फाउण्डेसनको आर्थिक सहयोगमा स्वच्छ सफा नेपाल र बास नेपालद्धारा नेपालगन्ज उपमहानगरपालिकामा मे २०२५ देखि उक्त परियोजना संचालनमा रहेको छ ।