नेपालगन्ज : न्यायपालिकामाथि बाह्य दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएशनका सचिव कुसुमा सुवेदी र बाँके जिल्ला अदालत बारका सचिव शक्तिसिंह हमालले बिहीबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएका हुन् ।
अमरसिंह ठकुरी समेतको जाहेरीले वादी नेपाल सरकार विरुद्ध प्रतिवादी रुपेशकुमार थापा समेत भएको कर्तब्य ज्यान मुद्दामा वादी नेपाल सरकारका तर्फबाट दायर अभियोगपत्र उपर बाँके जिल्ला अदालतमा थुनछेक आदेश सम्बन्धी सुनुवाई भइरहेको क्रममा अदालत परिसर बाहिर आफुलाई पीडित पक्ष बताउने केही ब्यक्ति तथा समूहले हात हातमा प्लेकार्ड र ब्यानर लिई अपराधीलाई फाँसी दे लगायतका उत्तेजक तथा अराजक नाराबाजी गर्दै न्याय सम्पादन प्रक्रियामाथी प्रत्यक्ष दबाव सिर्जना गर्ने उद्देश्यले प्रर्दशन गरेको, अदालतको मुख्य गेटमा आक्रमण तथा छोडफोड गर्न उद्धत भएको विज्ञप्तीमा उल्लेख छ ।
केही समयदेखी विभिन्न मुद्दाका सन्दर्भमा जाहेरवाला वा आफुलाई पीडित पक्ष बताउने समुहहरुद्धारा अदालत परिसर तथा अदालत अगाडि प्रर्दशन, नाराबाजी तथा दवाबमूलक गतिविधिहरु सञ्चालन गरिदै आएको देखिएको विज्ञप्तीमा जनाइएको छ ।
न्यायपालिकाको काम, कारबाहीमा अवरोध सिर्जना गर्ने, अदालतको शान्ति सुरक्षा भंग गर्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानून बमोजिम सुक्ष्म अनुसन्धानसहित आवश्यक कानूनी कारबाही अगाडि बढाउन सम्बन्धित निकायहरुको गम्भिर ध्यानाकर्षण गराइएको छ ।
अदालतको शान्ति सुरक्षा, न्यायिक वातावरणको संरक्षण तथा मुद्दामा बहस पैरवी गर्ने कानुन ब्यवसायी, सेवाग्राही र न्याय सम्पादनसँग सम्बन्धित सबै पक्षको सुरक्षालाई दृष्टिगत गरी अदालत आसपासको क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।