नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले बनाउन लागेको सञ्चार नीतिको मस्यौदाका विषयमा आवश्यक परामर्श दिइएको छ । नेपालगन्जमा क्रियाशिल अगुवा पत्रकारहरुले बिहीबार उक्त मस्यौदाका विषयमा परामर्श दिएका हुन् ।
नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा बिहीबार डुडुवा गाउँपालिकाले उक्त परामर्श कार्यक्रम आयोजना गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षमा आयोजित कार्यक्रममा डुडुवाको सञ्चार नीतिको मस्यौदालाई गाउँपालिकाका प्रेस सल्लाहकार एवम् अग्रज पत्रकार राकेशकुमार मिश्रले प्रस्तुत गरे ।
सो क्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले सञ्चार नीति निर्माण भएपछि त्यसैका आधारमा सञ्चार सँग सम्बन्धित अन्य ऐन/कार्यविधि निर्माण गरिनुपर्ने बताए । महासंघ बाँकेका अध्यक्ष गिरीले सञ्चार नीति बनाएपछि स्थानीय तहलाई सञ्चारका क्षेत्रमा काम गर्न सहज हुने भएकाले महासंघले सहजीकरण गरिरहेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा डुडुवासहित राप्ती सोनारी र बैजनाथ गाउँपालिकाले पनि सञ्चार नीति ल्याउँदैछन् । यस्तै नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले यसअघि नै नीति कार्यान्वयनमा ल्याईसकेको गिरीले बताए ।
सो क्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्षहरु निरजकुमार गौतम, प्रेम केसी र झलक गैरे, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका केन्द्रिय सदस्य मोहम्मद आरिफ अन्सारी, अग्रज पत्रकारहरु शंकर खनाल, विश्वराज पछल्डंग्या, कमल न्यौपाने, रुपनी जिएम लगायतले पनि आवश्यक परामर्श तथा सुझाव दिएका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रम गिरी र सूचना अधिकारी सञ्जयकुमार कर्णले पनि सञ्चार नीतिको मस्यौदाबारे आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम सञ्चालन पत्रकार प्रियास्मृति ढकालले गरेका थिए ।