बाँके : ८ बुँदे साझा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै बाँकेको बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सुनुवाईको अन्तमा जारी गरिएको प्रतिबद्धताहरुमा बैजनाथ वडा नम्वर ८ मा रहेको समसानघाट व्यवस्थापन बारे अदालतबाट भएको फैसला र सामाजिक मूल्य, मान्यता अनुरुप कार्यपालिकाबाट समस्या समाधान गर्ने, न्यून बिद्यार्थी भएका बिद्यालयहरुमा बिद्यार्थी संख्या बृद्धि गर्न र गुणस्तरिय शिक्षा बृद्धिका लागि आवश्यक रणनीति अवलम्वन गरि अभियान सञ्चालन गर्ने, पालिकाबाट सञ्चालित हुने सम्पूर्ण योजनाहरुको अनिवार्य सूचना पार्टी राख्न निर्देशन दिने, कार्यान्वयन नगरे सचेत गराउने, सचेत गराउँदा पनि कार्यान्वयन नगर्ने समितिलाई कार्वाही गर्ने रहेका छन् ।
यसैगरी अन्य प्रतिबद्धताहरुमा स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्सहरुमा अक्सिजन जडान नगरेको गुनासो प्राप्त भएकाले उक्त समस्या समाधान गर्न पहल गर्ने, बैजनाथ वडा नम्वर १ मा रहेको केरी खोलमा बर्षेनि बाढीका कारण धनजनको क्षति भईरहेकाले उक्त समस्या समाधानका लागि पालिका स्तरबाट योजना बनाउनुका साथै संघ र लुम्विनी प्रदेशबाट योजना माग गर्ने रहेका छन् ।
सुनुवाईबाट वडा नम्वर २ कुशेडाँडाको खानेपानी समस्या समाधानका लागि आवश्यक पहल गर्ने, बैजनाथ बाटिकाको संरक्षण, सम्बद्र्धन गर्ने, कुशेडाँडाको बस्ति व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, पेडारी नाला निर्माणका लागि आवश्यक पहल गर्ने र पालिकाबाट प्रदान गरिने सेवा, योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गर्ने प्रतिबद्धता जारी गरिएको छ ।
जारी प्रतिबद्धताहरुमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकिय अधिकृत कमलराज उपाध्याय, वडा नम्वर १ का वडाध्यक्ष रुप बहादुर मल्ल, वडा नम्वर २ का वडाध्यक्ष राजु रुचाल ठकुरी, कार्यपालिका सदस्य रुपा थापा लगायतले हस्ताक्षर गरेका छन् ।
सुनुवाईमा स्थानीय नागरिकहरुले बिकास निर्माण, लक्षित बर्ग उत्थान कार्यक्रम, योजनाहरुको गुणस्तरियता, सेवा, सुबिधाको प्रभावकारिता लगायतका बिषयमा दर्जनौं प्रश्नहरु सोधेका थिए । प्रश्नहरुको उत्तर जनप्रतिनिधि तथा बिभिन्न शाखाका प्रमुखहरुले दिएका थिए ।

बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने पालिकाको कार्यालयबाट सेवा लिएर फर्किएका सेवाग्राहीहरुबाट संकलन गरिएको बर्हिगमन अभिमतको नतिजा जनसम्पर्क अधिकृत माधव कार्कीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका अध्यक्ष धन बहादुर बस्नेत, नेपाली काँग्रेशका गोपाल थारु, नेकपा एमालेकी एकता शाह, नेपाली कम्युनिष्ट पार्टीका जय बहादुर बिक, बैजनाथ गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष निखिल बैगार, वडा नम्वर ७ का वडाध्यक्ष दिनेश थारु लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा २०० बढि स्थानीयहरु सहभागि रहेका थिए ।