खजुरा : बाँकेको खजुरामा युवा वर्गलाई लक्षित गर्दै १० दिने भिडियोग्राफि तथा सम्पादन तालिम सम्पन्न भएको छ । युवालाई स्वरोजगार बनाउन खजुरा गाउँपालिकाको आयोजना तथा स्किल ट्रेनिङ एन्ड रिसर्च कन्सल्टेन्सी प्राली नेपालगन्जको प्राविधिक सहयोगमा २० युवाहरुलाई भिडियो ग्राफि तथा सम्पादन तालिम प्रदान गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै सहभागिहरुले तालिम आफुहरुलाई निकै प्रभावकारी बनेको प्रतिक्रिया दिए । सिप सिकाईको माध्यम बनेकोमा सहभागिले खुसी व्यक्त गरे । तालिममा सहभागि आकृति सुनारले १० दिनको तालिमले आधारभुत ज्ञान सिप लिन सकिएको भन्दै पालिकाले एडभान्स तालिमको व्यवस्था गरिदिन माग गरिन ।
तालिमका अर्का सहभागि दुर्गा थापामगरले छोटो समयमा पनि धेरै ज्ञानसिप हासिल गर्न सकिएको भन्दै आयोजकलाई धन्यबाद दिइन । सहभागि तिलक सिंह रेश्मीमगरले प्रशिक्षकहरुले जिवनमा प्रत्यक्ष काम लाग्ने गरि सिकाई प्रदान गरेको भन्दै यसको थप तालिम लिन आफुहरु उत्सुक रहेको बताए । खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले १० दिने तालिमको उपलव्धी राम्रो देखिएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत पौडेलले सिप सिक्ने गरि प्रदान गरिएको तालिमलाई थप प्रभावकारी बनाउन पालिकाले आगामि योजनामा समावेश गर्ने जनाए । उनले सहभागिले निर्माण गरेको भिडियो हेर्दै भने यस स्तरको तालिम आगामी वर्षहरुमा निरन्तरता दिने गरि कार्यन्वयनको पाटोलाई अघि बढाइने उल्लेख गरे । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपानेले युवालाई स्वरोजगार बनाउने गरि थप कार्यक्रमको आवश्यकता देखिएको भन्दै तालिमको उपलव्धी सहभागिले निर्माण गरेको भिडियोले नै देखाएको बताइन ।
देशमै बसेर केही गर्छु भन्ने युवा वर्गका लागि यस्तो तालिम पालिकाले प्रदान गर्न योजना बनाएको उनले उल्लेख गरिन । तालिमका प्रशिक्षक तथा सन्चारकर्मि तिलक गाहामगरले १० दिने तालिमबाट सिप सिकेर त्यसको सही सदुपयोग गर्दै आर्थिक आम्दानीको पाटोतिर लम्कीन अनुरोध गरे ।
सन्चारकर्मी तथा तालिम प्रशिक्षक खगेन्द्र दाहालले खजुराका युवाहरूका लागि रोजगारमूलक सिप प्रदान गर्न गरिएको प्रयास प्रशन्सनिय रहेको बताए । स्किल ट्रेनिङ एन्ड रिचर्च कन्सल्टेन्सी प्रालीका प्रबन्ध निर्देशक शिव रानाभाटले सामाजिक सञ्जाललाई सही सदुपयोग गरेर सिकेको सीप मार्फत आय आर्जन गर्न सकिने गरि काम गर्न अनुरोध गरे । न्यू डाँफे स्पोटर््स क्लबका अध्यक्ष बालाराम खत्रीले तालिमले नयाँ प्रतिभालाई उजागार गरेको बताए ।
तालिमको सहजीकरण गरेका सञ्चारकर्मी दाहाल र गाहामगरले भिडियो निर्माण गर्न सक्ने दक्ष जनशक्ति पाउन मुस्किल अवस्थामा यस किसिमको तालिमले परिपुर्ति गर्न मद्धत गर्ने बताएका थिए । तालिम जेष्ठको २९ देखी असार ७ गते सम्म सन्चालन गरिएको थियो ।