खगेन्द्र दाहाल/खजुरा : खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गरिएको छ । एकल महिला, दलित, जनजाति, महिला घरमूली भएको घर लाई विशेष प्राथमिकता दिई चुलो प्रदान गरिएको हो ।
परम्परागत चुलोबाट निस्कने धुवाँले गर्दा महिला र बालबालिकामा लाग्ने श्वासप्रश्वास सम्बन्धी रोगहरू दम, खोकी कम हुने भएकोले चुलो वितरण पछि स्वास्थ्यमा सुधार हुने अपेक्षा लिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।
खजुरा गाउँपालिकामा रहेको सामूहिक आवासका १७ घरधुरी सहित ३ सय जनालाई अहिले सुधारिएको चुलो वितरण गरिएको खजुरा योजना शाखा सहायक तथा वैकल्पीक ऊर्जा कार्यक्रम फोकल पर्सन तारा थापाले जानकारी दिइन् । खजुराले गत वर्ष पनि सुधारिएको चुलो वितरण गरेको थियो ।
गत वर्ष ४ सय वितरण गरिएकोमा अहिले थप सुधारिएको चुलो ३ सय घरधुरीको लागी छुट्टाइएको बजेट बाट वितरण गरिएको पालिकाले जनाएको छ । भान्सा सुधार गर्नका लागी विद्युतिय इलेक्ट्रीक चुलो गत वर्ष ४५० घरधुरीका लागी खजुराले वितरण गरिसकेको अवस्था छ ।
यस वर्ष पनि विद्युतीय चुलो वितरण गरिसकेको पालिकाले ८६० घरधुरीका एकल महिला, दलित, जनजाति, महिला घरमूली भएको घरलाई प्रदान गरेको हो । आगामी आव २०८३र०८४ मा थप १२ सय घरधुरीलाई वितरण गर्ने गरी १० लाख बजेट विनियोजन गरिएको योजना शाखा सहायक तथा वैकल्पीक ऊर्जा कार्यक्रम फोकल पर्सन थापाले जनाइन ।
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण गर्दा स्थानीय बासिन्दाहरूलाई, विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूलाई धेरै ठूलो राहत पुगेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । सुधारिएको चुलोले कम दाउरामा छिटो खाना पकाउने हुनाले दाउरा संकलन गर्ने समय र श्रम दुवै जोगिने अध्यक्ष विकले उल्लेख गरे ।
वातावरण संरक्षण दाउराको खपत कम हुँदा वनजंगल फँडानी रोक्न र वातावरण सन्तुलन राख्न मद्दत पुग्ने अपेक्षा पालिकाले लिएको खजुरा गाउँन्पालिका उपाध्यक्ष मन्जु मल्लले जनाइन ।
स्थानीय सरकार र सरोकारवाला निकायको यस्तो कदमले समुदायको स्वास्थ्य र वातावरण दुवैमा दीर्घकालीन रूपमा राम्रो प्रभाव पार्ने स्थानिय बनाउँछन ।