नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयले बिहीबार आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । नेपालगन्जमा एक विशेष समारोहका बीच वार्षिक उत्सव मनाएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको सभापतित्व एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय प्रसाद तिमिल्सिनाकोको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव गरिएको हो ।
विश्वविद्यालयका सह–कुलपति समेत रहेका मन्त्री तिमिल्सिनाले अबको शिक्षा प्रणाली प्रविधीमैत्री र प्राविधिक ज्ञानमा आधारित हुनुपर्ने बताए । उनले अगाडी भने, ‘प्राविधिक शिक्षालाई रोजगारी, उत्पादन र उद्यमशीलतासँग जोड्न आवश्यक छ, प्रदेश सरकारले प्राविधिक शिक्षाको विकास र विश्वविद्यालयको संस्थागत सुदृढीकरणमा आवश्यक सहयोग गर्नेछ ।’

सो क्रममा उपकुलपति प्रा.डा. ढकालले विश्वविद्यालयले छोटो अवधिमै प्राविधिक शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे । उनले शिक्षा, अनुसन्धान, नवप्रवर्तन बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनमा विश्वविद्यालय केन्द्रित रहेको बताए । वार्षिक उत्सव समारोहमा विश्वविद्यालयका कुल सचिव (रजिष्ट्रार) रेगबहादुर भण्डारीले स्वागत गरेका थिए ।
वार्षिक उत्सव समारोहमा लुम्बिनी प्रदेशका सांसदहरु माया पुन, अम्बिका काफ्ले, सुशिला नेपाली (बादी) र मिना श्रेष्ठ तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज बराल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणि आचार्य, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्मा, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आयोजित उक्त समारोहमा विश्वविद्यालयका बिद्यार्थीहरुले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।