नेपालगन्ज : खजुरा गाउँपालिकाका बाँकेको आर्थिक वर्ष २०८२/०८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा असार ३१ गते सम्पन्न सुनुवाईमा ९ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।
जवाफदेहि बक्ता र सहभागिहरु बिचको लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । सार्वजनिक सुनुवाइमा सहभागीहरुले सार्वजनिक सुनुवाइ लगायत पालिकाले सञ्चालन गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरू उपस्थित नहुने गरेको। खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको समस्या रहेको, कतिपय विद्यालयमा विद्यार्थीको संख्या अनुसार पर्याप्त फर्निचर नभएकाले पठनपाठन प्रभावित भएको प्रश्न गरे ।
यस्तै विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको अभाव रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालयको अभावका कारण स्थानीयलाई समस्या भएको, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू प्रभावकारी हुन नसकेको, तालिमपछि सहभागीहरूलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएको, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको, विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने जलवायु परिवर्तन, प्लाष्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, नियमित संकलन तथा व्यवस्थापनमा समस्या रहेको लगायतका प्रश्न तथा गुनासो राखेका थिए ।
त्यसैगरी केही विद्यालयहरूले कानुन विपरीत विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि पालिकाले के कारबाही गर्नुपर्ने, जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको भन्दै शीघ्र व्यवस्थापन गर्नुपर्ने पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर रहेको, सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सहभागिहरुले सुझाव दिएका थिए भने युवाहरूमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा सचेतनामूलक अभियान सञ्चालन गर्न पालिकाले विशेष पहल गर्नुपर्ने माग गरेका थिए । सहभागिहरुले गरेको प्रश्नको गाउँपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरु र शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाइमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गरेका थिए । पालिकाले वर्षभरी सम्पन्न गरेका योजना क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेललले प्रस्तुत गरेका थिए ।