नेपालगन्ज : उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले शुक्रबार मुद्दा फछर्यौट सम्बन्धी विवरण सार्वजनिक गरेको छ । अदालतले पत्रकार भेटघाट गरेर आर्थिक वर्ष २०८२/०८३ मा ६२.६० प्रतिशत मुद्दा फछर्यौट गरिएको जानकारी दिएको हो ।
कुल २ हजार १ सय ६३ मुद्दा मध्ये लगतको आधारमा १ हजार ३ सय ५४ वटा मुद्दा फछर्यौट गरिएको अदालतका मुख्य भई काम गर्ने न्यायाधीश बामदेव ज्ञवालीले पत्रकार भेटघाटमा जानकारी दिए । लगतको आधारमा ६२.६ प्रतिशत मुद्दा फछर्यौैट भएपनि लक्ष्यका आधारमा ७७.७ प्रतिशत फछ्र्यौट गर्न सफल भएको उनले बताए ।
उक्त आर्थिक वर्षमा अदालतले ७० प्रतिशत अर्थात १ हजार ७ सय ४३ वटा मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको थियो । अदालतको वार्षिक अनुमानित लगत संख्या २ हजार ४ सय ९० रहेको थियो, भने ६ सय ४२ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए । ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्त सम्ममा अदालतमा १८ महिना पुगेका मुद्दा १५ वटा मात्रै रहेका छन् ।
यस्तै दुई वर्ष नाघेका मुद्दालाई अदालतले शुन्य संख्यामा झारेको जनाएको छ । न्यायाधीश ज्ञवालीले भने, ‘जेन–जी आन्दोलनका कारण भौतिक पुर्वाधार र मिसिल जलेका बाबजुद पनि यति मुद्दा फछर्यौट हुनु यो ठुलो उपलब्धी हो ।’ जेन–जी आन्दोलनबाट अदालतको भौतिक संरचना र मिसिलमा भएको क्षतिका कारण गतवर्ष भन्दा कम संख्यामा मुद्दा फछर्यौट भएको उनले बताए ।
गत आर्थिक वर्ष २०८१/०८२ मा अदालतबाट कुल २ हजार ६ सय ४६ मुद्दा मध्ये ७५.७४ अर्थात २ हजार ४ वटा मुद्दा फछर्यौट भएका थिए । त्यसअघि आ.व. २०८०/०८१ मा कुल २ हजार ७ सय ८ वटा मुद्दा मध्ये १ हजार ९ सय ३४ अर्थात ७१.४१ प्रतिशत मुद्दा फछर्यौट भएको अदालतले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट अदालतका इजलास कक्षहरु अझैपनि पूर्ण रुपले सञ्चालन हुन सकेका छैनन् । न्यायाधिश ज्ञवालीका अनुसार तीन वटा इजलास कक्ष मर्मत पश्चात सञ्चालनमा आएपनि बजेट अभावका कारण अझै दुई वटा कक्ष मर्मत हुन नसक्दा बन्द अवस्थामा रहेका छन् ।
न्यायाधीश ज्ञवालीले अगाडी भने, ‘आगजानीबाट जलेका मिसिलका कारण मुद्दा फछर्यौट गर्न हामीलाई केही कठिनाई भयो, तरपनि हामीले अदालतको सेवालाई निरन्तरता दिदै आएका छौं ।’ पत्रकार भेटघाटमा न्यायधीस मुनेन्द्र अवस्थी, सकुन्तला घिमिरे र कोशल चन्द्र सुवेदी, निमित्त रजिष्ट्रार गम्भिर रानामगर, सूचना अधिकारी बलबहादुर बिष्ट लगायत उपस्थित भएका थिए । पत्रकार भेटघाट कार्यक्रम सञ्चालन अदालतका शाखा अधिकृत अमृता केसीले गरेकी थिइन् ।