नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित चप्परगौरीदेखी चुनाहा गाउँलाई जोड्न राप्ती नदीमा झोलुंगे पुल बन्ने भएको छ । राप्ती सोनारी–१ का स्थानीय बासिन्दा समेत रहेका नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका क्षेत्रीय सभापति पोषण केसीको विशेष पहलमा उक्त ठाउँमा पनि झोलुंगे पुल बनाउन ठेक्का खोलिएको हो । केही महिनाअघि मात्र राप्ती सोनारी–७ स्थित राप्ती नदीमा पनि झोलुंगे पुल निर्माण गर्न केसीकै सक्रियतामा ठेक्का प्रक्रिया अगाडी बढेको थियो ।
लामो समयको निरन्तर पहल र प्रयासपछि करिव ३ सय ६४.५ मिटर लामो झोलुंगे पुल निर्माणका लागि करिव ४ करोड ५० लाख रुपैयाँको लागतमा बोलपत्र आह्वान भएको बताइएको छ । स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आर्थिक बर्ष २०८२/०८३ को बजेट भित्रै अर्थ मन्त्रालयले बहुवर्षिय योजना अन्तर्गत स्रोत सुनिश्चितता दिएपछि उक्त आर्थिक बर्षबाट गणना हुने गरी एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित टेण्डर खुलेको नेता केसीले जानकारी दिए ।
राप्ती नदीको चप्परगौरी-चुनाहा घाट (हेर्नुस् भिडियो)
झोलुंगे पुल निर्माण भएपछि बाँके क्षेत्र नम्बर १ को राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने राप्तीपारी रहेका चुनाहा, दुबेरी लगायत गाउँका नागरिकले वारपार गर्न काठको डुंगामा निर्भर रहनुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । ‘यस महत्वपूर्ण योजनालाई मूर्तरूप दिन सहयोग गर्ने बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका प्राविधिक कर्मचारीहरू, जनप्रतिनिधिहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ केसीले दूरसञ्चारसँग भने, ‘समृद्ध र सहज राप्ती सोनारी निर्माण तर्फको यो अर्को महत्वपूर्ण उपलब्धी हो ।’
राप्ती नदीमा झोलुंगे पुल निर्माण हुने भएपछि राप्तीपारीका स्थानीय बासिन्दाहरु हर्षित भएका छन् । स्थानीय बासिन्दा पुष्पा सुनारले गाउँमा झोलुंगे पुल बन्ने खबर सुनेर धेरै खुसी लागेको बताइन् । ‘अब हामीलाई धेरै राहत मिल्ने भयो,’ उनले टेलिफोनमा भनिन्, ‘नदी वारपार गर्न डुंंगा चढ्ने र घण्टौं पैदल हिडेर झोलुंगे पुलबाट वारपार गर्ने बाध्यताको अन्त्य हुनेछ ।’

राप्ती सोनारी–१ स्थित राप्ती नदीमा अहिलेसम्म ४ वटा झोलुंगे पुल निर्माण भएर प्रयोगमा आईरहेका छन् । यसअघि राप्ती नदीको बाँसखोली–भवानीयापुर, लौकी–खोकरी, बैरिया–भम्का र कुसुम-अमुवामा निर्माण भएका झोलुंगे पुलबाट स्थानीय बासिन्दाले राहत महसुस गरिरहेका छन् । स्थानीय बासिन्दा सुनारका अनुसार चुनाहा र दुबेरी गाउँबाट भवानीयापुर सम्म पुग्न २ घण्टा र खोकरी पुग्न पौने एक घण्टा पैदल हिड्नुपर्छ ।
