नेपालगन्ज : पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता विपरीतका गतिविधिप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै र जुनसुकै अवस्थामा पनि स्वतः पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्य–मान्यता तथा जनविश्वासमा प्रश्न उठाएको महासंघको निष्कर्ष छ ।
महासंघको कार्यसमिति बैठकपछि सचिव कृष्ण ओलीले विज्ञप्ती जारी गर्दै पत्रकारिताको नाममा गरिने गैरजिम्मेवार, अमर्यादित तथा आचार संहिता विपरितका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र नपर्ने स्पष्ट पारेका छन् । सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वमा आधारित पत्रकारिता अभ्यास गर्न सम्पूर्ण सञ्चारकर्मीलाई विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।
शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा जिल्लाको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा बसेको बैठकले महासंघ बाँकेको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा खुला उपाध्यक्ष पदमा बराबर मत प्राप्त गरेका तिलक गाउँले र रेजिना मल्लबीच भएको सहमति अनुसार उपाध्यक्ष गाउँलेले आफ्नो आधा कार्यकाल पूरा गरेपछि बाँकी कार्यकालका लागि रेजिना मल्ललाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
महासंघले गत आर्थिक वर्षमा वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएका कार्यक्रम तथा गतिविधि उपलब्धिमूलक र प्रभावकारी रहेको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा पत्रकारको पेशागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा सदस्य हितलाई प्राथमिकतामा राखेर थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।