काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा जारी विद्यार्थी आन्दोलनमा प्रदर्शनकारीहरूको भीड थप बढेको छ । परीक्षा घोटालापछि जवाफदेहिता र शिक्षा प्रणालीमा सुधारको माग गर्दै सुरु भएको आन्दोलनका नाराहरू अहिले देशभरका विभिन्न सहरमा गुञ्जिन थालेका छन् ।
सामाजिक सञ्जालमार्फत सञ्चालित ‘ककरोच जनता पार्टी’ आन्दोलनको नेतृत्वमा भइरहेको यो प्रदर्शन सन् २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदी पुनः निर्वाचित भएयताको उनको सरकारका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ । भारतका विपक्षी दलहरू विभाजित रहे पनि उनीहरू र अधिकारकर्मीहरूले यो अभियानलाई लोकतान्त्रिक जवाफदेहिता तथा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारका लागि भइरहेको भन्दै समर्थन गरेका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस नेता राहुल गान्धीलगायत विपक्षी सांसदहरूले सोमबारको विशाल ¥यालीमा प्रहरीले गरेको बल प्रयोगका लागि सरकारले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग संसद्भित्र उठाएपछि आन्दोलनले बुधबार थप गति लिएको छ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनकारीहरूले राजधानीको केन्द्रमा रहेको जन्तर–मन्तर नछाड्ने अडान लिएका छन् ।
बुधबार त्यहाँ प्रदर्शनकारीहरूको संख्या बढेर हजारौँ पुगेको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलन नयाँ दिल्लीमा मात्र सीमित नरही देशका अन्य भागमा पनि फैलिएको छ । बुधबार भारतका मुम्बई, बेङलुरु, पटनालगायत विभिन्न प्रमुख सहरमा पनि प्रदर्शन भएका छन् । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार पटनामा शिक्षामन्त्री प्रधानको राजीनामा माग्दै निकालिएको र्यालीमा प्रहरीले अश्रुग्यास र वाटर क्यानन प्रयोग गरेको थियो ।
अधिकांश युवा विद्यार्थी सहभागी रहेको यो आन्दोलनलाई मंगलबार विपक्षी दलहरूले प्रधानमन्त्री निवासतर्फ धर्ना दिएर समर्थन गरेपछि थप बल पुगेको थियो । मंगलबार केही समयका लागि हिरासतमा परेका ५६ वर्षीय राहुल गान्धी बुधबार कालो पोशाकमा सदनमा उपस्थित भए र सरकारसँग विद्यार्थीका मागबारे जवाफदेहिता मागेका थिए । सञ्चारकर्मीसँग उनले विद्यार्थीलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै भने, “हामी तपाईंहरूको भविष्यको सुरक्षा सुनिश्चित गर्नेछौँ ।”
द इन्डियन एक्सप्रेसका अनुसार परीक्षा प्रश्नपत्र लिक प्रकरणमा केन्द्रीय शिक्षा प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर–मन्तरमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा मुम्बईको दादरमा जुलाई २१ मा विद्यार्थीहरू ऐक्यबद्धता प्रदर्शनका लागि भेला भएका थिए । जुलाई २० मा नयाँ दिल्लीमा संसद्तर्फ गरिएको मार्चका क्रममा प्रहरीले गरेको बल प्रयोग र दमनपछि देशका विभिन्न सहरमा विरोध प्रदर्शन झन् तीव्र बन्दै गएका छन् ।
मुम्बईमा भएको यो प्रदर्शन पनि त्यसैको निरन्तरताका रूपमा आयोजना गरिएको हो, जहाँ विद्यार्थीले जन्तर–मन्तरमा आन्दोलनरत विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा प्रणालीमा सुधार तथा परीक्षा अनियमिततामाथि निष्पक्ष छानबिनको माग गरेका छन् । विगत केही दिनदेखि मुम्बई प्रहरीले धरपकड गर्दै ठूलो संख्यामा प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई पटक–पटक चेतावनी तथा नोटिस जारी गरे पनि सहरमा बुधबार लगातार तेस्रो दिन पनि विरोध प्रदर्शन जारी रहेको थियो ।
दादरस्थित शिवाजी पार्कमा विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको ठूलो भेला भएको थियो । यसका साथै दिनभर चेम्बुर, जुहु र पोवईलगायत विभिन्न स्थानमा अलग–अलग संगठनहरूले आयोजना गरेका साना–ठूला विरोध प्रदर्शनहरू पनि सम्पन्न भएका थिए । यसअघि मुम्बई प्रहरीले विद्यार्थीलाई कुनै वारेन्टबिनै उनीहरूकै घरबाट नियन्त्रणमा लिएर सहरका विभिन्न प्रहरी कार्यालयहरूमा लगेको आरोप लागेको छ ।
सोमबार मुम्बईको दादरस्थित चैत्यभूमि क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन तथा ब्यारिकेडिङ गरिए पनि चिकित्सा प्रवेश परीक्षामा भएको कथित धाँधलीको विरोधमा केन्द्र सरकारविरुद्ध प्रदर्शन गर्न भेला भएका सयौँ विद्यार्थी र अभियान्ताहरूलाई रोक्न सकेन । आयोजकहरूका अनुसार प्रदर्शनका क्रममा मुम्बई प्रहरीले करिब २०० जनालाई हिरासतमा लिएको दाबी गरिएको थियो ।