नेपालगन्ज : भारतबाट आउने कोरोना संक्रमितलाई आईसोलेशनमा राख्न बेड अभाव हुने भएपछि २०७८ मा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरियो । कुल २९ करोड ३८ लाख रुपैयाँको लागतमा आइसोलेशन भवन, शौचालय, स्टोर, किचन/डाइनिङ समेत गरी कुल ६० वटा भवन निर्माण गरिएको थियो ।
आइसोलेशन वार्डमा एक हजार वटा बेडहरु राखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको ४ बिघा १३ धुर सरकारी जग्गामा हनुमान निर्माण कम्पनी ललितपुरले ठेक्का लिएर काम गरेपनि निर्माणको सुपरिवेक्षण/अनुगमन भने नेपाली सेनाले गरेको थियो । तर, होल्डिङ सेन्टर निर्माण लगत्तै कोरोना महामारी नियन्त्रणमा आयो ।
कोरोना महामारी नियन्त्रणमा आएपछि होल्डिङ सेन्टरका भौतिक संरचनाको रेखदेख नेपाली सेनाको ‘बज्रदल गण’ राँझा नेपालगन्जले गर्दै आएको छ । उक्त गणले हाल १६ जना कर्मचारीलाई रेखदेख कार्यमा खटाएको छ । गणले २०७९ साउन २३ गतेदेखी होल्डिङ सेन्टर रेखदेख गर्न थालेको हो ।
होल्डिङ सेन्टर लामो समयदेखी प्रयोगबिहिन हुँदा यहाँका भौतिक संरचना जीर्ण हुन सक्ने भन्दै नागरिक स्तरबाट चिन्ता भईरहेको छ । संघिय सरकारको मातहतमा रहेका यि भौतिक संरचनालाई प्रयोग गर्नुपर्ने नागरिक समुदायको सुझाव छ । उक्त होल्डिङ सेन्टरलाई प्रयोग गर्न स्थानीय सरकार(उपमहानगरपालिका)लाई नै हस्तान्तरण गर्नुपर्ने नेपाली सेनाको मन्साय रहेको छ । यसका लागि सेनाका अधिकारीले उपमहानगरपालिकासँग प्रस्ताव समेत राखिसकेका छन् ।
संघिय सरकारबाट ठोस् निर्णय नआउँदा अहिलेसम्म होल्डिङ सेन्टर सेनाकै संरक्षणमा रहेको छ । उपमहानगरपालिकाले भौतिक संरचना लिन तयार रहेपनि मर्मत सम्भारका लागि आवश्यक पर्ने बजेटको ब्यवस्था गरिदिनुपर्ने शर्त राखेको छ । उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट बजारक्षेत्र भन्दा टाढा रहेकाले होल्डिङ सेन्टरलाई ब्यवसायिक रुपमा प्रयोग गर्न सकिने सम्भावना न्यून रहेको बताउँछन् ।
‘नेपाली सेनाको टोलीसँग यस विषयमा सामान्य छलफल पनि भएको छ, उहाँहरुले स्थानीय सरकारले नै होल्डिङ सेन्टर लिनुपर्यो भन्नुहुन्छ, देशभर होल्डिङ सेन्टरहरु बनेकाले यस विषयमा संघिय सरकारले पनि कुनै निर्णय गर्ला,’ उनले भने । होल्डिङ सेन्टरलाई लागु औषध प्रयोगकर्ताको उपचार गर्ने अस्पताल तथा सुधार केन्द्रका रुपमा उपयोग गर्न सकिने विकल्प रहेको मेयर बिष्टले सुनाए ।
नेपाली सेनाले सुरक्षा गरिरहँदा पनि होल्डिङ सेन्टरका सामानहरु बाहिरका ब्यक्तिबाट पटक–पटक चोर्ने प्रयास भईरहन्छ । सेनाको सक्रियताका कारण अहिलेसम्म यहाँका सामानहरु सुरक्षित छन् । तर, कमजोर संरचना र कमसल निर्माणका कारण यहाँका भौतिक संरचनाहरु दिनहुँ जीर्ण बन्दै गएका छन् ।
सरकारले होल्डिङ सेन्टरलाई बैंकल्पिक रुपमा प्रयोगमा नल्याए यहाँका संरचनाहरु अबको १/२ वर्षमा काम नलाग्ने अवस्थामा सुविधा नहुँदा सेनाका कर्मचारीहरु कष्टकर रुपले बसिरहेका छन् । सुरक्षार्थ बसेको आफ्नो टुकुडीले प्रयोग गरिरहेको बिद्युत महसुल नेपाली सेना आफैले तिर्दै आएको छ ।
उक्त होल्डिङ सेन्टर नेपालगन्ज बजार क्षेत्रदेखी करिव ५ किलोमिटर टाढा (दक्षिण–पुर्व) भारतीय सिमा नजिकै पर्छ । कोरोना महामारी हटिसकेपछि उक्त सेन्टरमा अन्य विपदमा परेका व्यक्तिलाई राख्ने सरकारको योजना थियो । तर, सरकारले यो बीचमा होल्डिङ सेन्टरलाई प्रयोग भने गर्न सकेन ।
बज्रदल गण राँझा नेपालगन्जका गणपति एवम् प्रमुख सेनानी(कर्णेल) रामचन्द्र श्रेष्ठले कोरोना कालमा होल्डिङ सेन्टर निर्माण गरिएपनि महामारी नियन्त्रणमा आईसकेपछि यसको प्रयोग हुन छाडेको बताए । ‘कोरोना महामारीका लागि यि भौतिक संरचनाहरु निर्माण गरिएको हो, महामारी हटिसकेपछि यसको प्रयोग हुन छाड्यो,’ श्रेष्ठले भने, ‘सरकारले होल्डिङ सेन्टरको विकल्पका बारेमा कुनै निर्णय नगरेको हुँदा हामीले नै यसको सुरक्षा गरिरहेका छौं ।’