नेपालगन्ज : नेपालगन्जमा शनिबार (भोलि) सद्भाव र्याली निकालिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार (आज) बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पुर्णबहादुर खत्रीका अनुसार भोलि बिहान साढे ७ बजे स्थानीय वीपी चोकदेखि धम्बोजी (वीरेन्द्र चोक) सम्म सद्भाव र्याली निकालिने भएको हो । सो र्यालीमा धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय लगायत सहभागी हुनेछन् ।
बैठकले पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै सद्भाव कायम राख्न अन्य विभिन्न निर्णय पनि गरेको छ । उक्त बैठकले यही साउन १० गते सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा बिहीबार सिरहामा भएको घटनामा ज्यान गुमाउने गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय समेत गरेको छ ।
उक्त बैठकले सार्वजनिक स्थानमा डिजे तथा ठूलो आवाजका साउन्ड सिस्टम बजाउन विगतमा भएका सर्वदलीय तथा सर्वपक्षीय बैठकका निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।र्याली र जुलुसका क्रममा हतियार प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिने तथा परम्पराअनुसार हतियार प्रदर्शन गर्ने चलन भएका स्थानमा वास्तविक हतियारको सट्टा प्रतिकात्मक सामग्री मात्र प्रयोग गर्ने निर्णय गरिएको छ ।
बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।