देउखुरी : पूर्वी र मध्य तराईका जिल्लामा पछिल्लो समय देखिएका हिंसात्मक घटनाको प्रभाव लुम्बिनी प्रदेशमा पर्न नदिन प्रदेश सुरक्षा परिषद्ले सुरक्षा सतर्कता थप कडा बनाउने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार बसेको लुम्बिनी प्रदेश सुरक्षा परिषद्को भर्चुअल बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख तथा बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरूले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था, सामाजिक सद्भावसँग सम्बन्धित विषय र सम्भावित जोखिमबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकले धार्मिक, सामाजिक तथा जातीय सद्भावमा असर पर्ने गतिविधिप्रति विशेष निगरानी बढाउने निर्णय गर्दै प्रदेशभर सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ। साथै सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र आपसी एकता कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा जातीय समुदाय, नागरिक अगुवा, धर्मगुरु, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरिएको छ।
बैठकले संवेदनशील क्षेत्रहरूमा स्थानीय तह र जिल्ला प्रशासनसँग समन्वय गरी संवाद, छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकार र सुरक्षा निकायबीच छिटो सूचना आदान–प्रदानका लागि प्रादेशिक एकीकृत सूचना सञ्जाल निर्माण गर्ने निर्णय पनि गरेको छ।
यसैगरी टिकटक, फेसबुक, युट्युब, ह्वाट्सएप र टेलिग्रामलगायत सामाजिक सञ्जालमार्फत सामाजिक, धार्मिक वा जातीय सद्भाव भड्काउने, अफवाह फैलाउने तथा भ्रामक सामग्री प्रसारण नगर्न आम समुदायलाई आग्रह गर्दै आधिकारिक र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न अनुरोध गरिएको छ।