नेपालगन्ज : विद्युत लाईन बिस्तारका क्रममा अवरोध पुर्याउन खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित भृकुटीनगरको चेतनानगर टोलमा 'लो भोल्टेज' को समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले बुधबार बिहान पोल गाड्न लागेको थियो ।
प्राधिकरणले उक्त टोलमा नेपालगन्ज औधोगिक क्षेत्र पचाडी रहेको खाली ट्रान्सर्फमर मार्फत लाईन जोड्ने गरि पोल गाड्न खोज्दा स्थानीय बासिन्दा महेन्द्र शाहले काममा अवरोध पुर्याउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट वरिष्ठ प्रहरी नायव निरीक्षक(वरिष्ठ सई) बिनोद डि.जी. को नेतृत्वमा पुगेको प्रहरी टोलीले शाहलाई नियन्त्रणमा लिएर जिप्रका पुर्याएको थियो । सो क्रममा ठुलो संख्यामा उपस्थित भएका स्थानीय बासिन्दाले विकास निर्माण सम्बन्धी काम हुँदा शाह दम्पतीले सधैं अवरोध पुर्याउने गरेको भन्दै कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका थिए ।
यसअघि औधोगिक क्षेत्रको दक्षिणतर्फ हुँदै सुर्खेतरोड जोड्ने बाटो विस्तारका क्रममा पनि उनीहरूले अबरोध गरेको र अहिले बत्तीको काममा पनि अवरोध गरेको भन्दै आक्रोश पोखेका थिए । त्यसअघि नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुर्य बोगटीको नेतृत्वमा पुगेको टोलीले पनि विद्युत लाईन विस्तारका क्रममा अवरोध पुर्याउन खोज्नेलाई सम्झाई-बुझाई गर्दै रोकेको थियो ।
'लो भोल्टेज' समस्याका कारण लामो समयदेखि चेतनानगर टोलबासीले सास्ती खेप्दै आएका छन । 'गर्मी समयमा नेपालगन्जका लागि 'लो भोल्टेज' समस्या सामान्य नै होला, तर हामी कहाँ त नजिकै रहेको ट्रान्सफर्मरको लोड खाली भएको अवस्थामा हामी रातभर तड्पेर बस्नुपर्ने अवस्था छ, विद्युत प्राधिकरणले विकल्पमा नजिकै खाली रहेको ट्रान्सर्फमरबाट लाईन जोड्न खोज्दा पनि महिनौसम्म स्थानीय केही ब्यक्तीले पोल गाड्न दिएनन,' चेतनानगर टोल विकास समितिका अध्यक्ष रमेशकुमार अधिकारीले भने ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रको अग्रसरतामा चेतनानगर टोलमा औधोगिक क्षेत्रको दक्षिणमा रहेको ट्रान्सफर्मरबाट लाईन जोडेर 'लो भोल्टेज' समस्या समाधान गरिदिने प्रयास सुरु देखि नै गरेपनि पोल गाड्न नदिँदा काम बीचमै रोकिएको थियोे ।
चेतनानगर टोल विकास समितिले 'लो भोल्टेज' समस्या समाधानका लागि विकल्प खोजिदिन डेलिगेशनसहित निवेदन दर्ता गराएको थियो ।