घोराही, (दाङ) : विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
२०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक त्रिलोचन खनालले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको समेत उपस्थिति रहेको थियो।
सहमतिपत्रअनुसार आर्थिक तथा सामाजिक रूपमा विपन्न अवस्थामा रहेका विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने, किसान तथा मजदुरका लागि सहयोग, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई सहयोग तथा सम्मानका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ।
त्यस्तै शिक्षा, स्वास्थ्य, सरसफाइ, श्रम, सीप विकास, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व तथा मानव सेवासम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने भएको छ। विपन्न विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा उनीहरूको क्षमता विकासमा सहयोग गर्ने कार्यक्रमलाई प्राथमिकता दिने सहमतिमा उल्लेख छ।
किसान तथा मजदुर वर्गको सम्मान, अधिकार, क्षमता विकास र आत्मनिर्भरतालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ। प्राकृतिक विपद्, सामाजिक संकट वा विशेष परिस्थितिमा आवश्यकताअनुसार मानवीय सहयोग तथा राहतका कार्यमा समेत दुवै पक्षले सहकार्य गर्ने जनाइएको छ।
कार्यक्रमको प्रकृति, स्थान, समय, बजेट तथा आवश्यक स्रोत–साधन दुवै पक्षको आपसी समन्वय र सहमतिमा निर्धारण गरिनेछ। सहकार्यअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूमा दुवै पक्षले आफ्नो क्षमता र स्रोतअनुसार आर्थिक, भौतिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने सहमति भएको छ।
सहमतिपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले सामाजिक विकासका लागि सरकारी तथा गैरसरकारी संस्थासँगै निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने बताए। विपन्न विद्यार्थी, किसान, मजदुर र ज्येष्ठ नागरिकका समस्या केवल व्यक्तिगत समस्या नभई समाजकै साझा जिम्मेवारी भएको भन्दै उनले सहकार्यबाट वास्तविक आवश्यकतामा रहेका नागरिकसम्म सहयोग पुर्याउने उद्देश्य रहेको बताए। उनले सहमति कागजमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी नेपाली जुत्ता घर, घोराहीका सञ्चालक त्रिलोचन खनालले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताअनुसार अभियानसँग सहकार्य गरिएको बताए। समाजबाट प्राप्त अवसर र सहयोगको केही हिस्सा समाजकै हितमा उपयोग गर्नुपर्ने धारणा राख्दै उनले विपन्न वर्गका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रमहरूमा आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले सहमतिपत्रलाई सकारात्मक र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा व्याख्या गरे। उनले विपन्न तथा आर्थिक समस्यामा रहेका नागरिकका लागि सञ्चालन गरिने यस्ता कार्यक्रमले समाजमा सहयोग, सहकार्य र मानवीय सेवाको भावना बलियो बनाउने धारणा राखे। सामाजिक अभियानलाई परिणाममुखी बनाउन पारदर्शिता, निरन्तरता र वास्तविक आवश्यकतामा रहेका व्यक्तिको पहिचान महत्वपूर्ण हुने उनले बताए।
सहमति नाफारहित तथा सामाजिक सेवामुखी उद्देश्यमा आधारित रहने जनाइएको छ। कार्यक्रम सञ्चालन गर्दा पारदर्शिता, सामाजिक उत्तरदायित्व, समानता, निष्पक्षता तथा सेवाभावलाई प्राथमिकता दिइनेछ। कार्यक्रमबाट प्राप्त सहयोग वास्तविक आवश्यकता भएका व्यक्ति तथा समुदायसम्म पुर्याउने प्रतिबद्धता समेत दुवै पक्षले गरेका छन्।
सहमतिपत्र २०८३ साल साउन २५ गतेदेखि लागू भई २०८३ साल चैत्र मसान्तसम्म कायम रहनेछ। दुवै पक्षको आपसी सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले सामाजिक सेवाको भावना, सहकार्य र आपसी समन्वयका आधारमा विपन्न तथा आवश्यकतामा रहेका नागरिकका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।