नेपालगन्ज : दुई दशकदेखि सञ्चारकर्ममा क्रियाशील पत्रकार खगेन्द्र दाहाल सम्मानित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–६, गिजरास्थित जनसेवा माध्यमिक विद्यालयले शुक्रबार आयोजना गरेको समारोहमा सञ्चारकर्मी दाहाललाई सम्मान गरिएको हो ।
विद्यालयले शैक्षिक वर्ष २०८३ को अभिभावक भेला, शैक्षिक सत्र २०८२ को पुरस्कार वितरण, आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम संयुक्त रूपमा आयोजना गरेको थियो । सोही अवसरमा सञ्चारकर्मी दाहालसहित विद्यालयको समग्र विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक टंकनाथ दाहालका अनुसार शिक्षा क्षेत्रमा लामो समयदेखि निरन्तर कलम चलाउँदै आएका सञ्चारकर्मी दाहालले जनसेवा माध्यमिक विद्यालयको प्रचार–प्रसार तथा शैक्षिक गतिविधिसम्बन्धी समाचार सामग्री प्रकाशन तथा प्रसारणमार्फत पुर्याएको योगदानको मूल्यांकन गर्दै कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
दुई दशक लामो सञ्चार यात्राका क्रममा दाहालले शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा स्थानीय सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । स्थानीय तहका विद्यालय तथा शैक्षिक संस्थाका गतिविधिलाई सञ्चार माध्यम मार्फत समुदायसम्म पुर्याउन उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर शाहीले विद्यालयको समग्र विकासमा योगदान पुर्याउने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको जानकारी दिए । विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्ण परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वर्तमान शिक्षक, अभिभावक लगायतलाई समेत सम्मान गरिएको थियो ।
सम्मानपछि सञ्चारकर्मी दाहालले सम्मानले आफूलाई थप जिम्मेवार भएर पत्रकारितामार्फत समाजका सकारात्मक गतिविधि, शिक्षा क्षेत्रका उपलब्धि तथा स्थानीय सरोकारका विषयलाई निरन्तर उजागर गर्न प्रेरणा मिलेको बताए ।
उनले विद्यालयको शैक्षिक विकास र सकारात्मक गतिविधिलाई सञ्चारमाध्यममार्फत समुदायसम्म पुर्याउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।