नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । युनियन बाँकेको नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले पत्रकारहरुका लागि युनियनले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
नवनिर्वाचित अध्यक्ष कमल खत्रीले आफ्नो कार्यकालको पहिलो निर्णय स्वरूप पत्रकारहरुलाई सहयोग पुगोस् भनेर कल्याणकारी कोष निर्माण गर्ने निणर्य गरेको बताएका छन् । ‘पत्रकारहरुलाई समस्या पर्दा कोषले केही राहत पुर्याउनेछ,’ अध्यक्ष खत्रीले भने, ‘रिर्पोटिंङका लागि पत्रकारले जतिबेला पनि सवारी चलाइरहनुपर्ने अवस्था हुन्छ, त्यस क्रममा पत्रकारलाई दुर्घटनाको जोखिम धेरै हुन्छ, यस्तो अवस्थामा कोषले केही राहत प्रदान गर्ने हाम्रो आशा छ ।’
स्थापना गरिने कोषलाई करिब दश लाख पुर्याउने समेत अध्यक्ष खत्रीले बताए । यस्तै शाखाले अधिवेशनलाई सफल बनाउन भूमिका निर्वाह गर्ने युनियनको केन्द्रीय प्रतिनिधि, पदाधिकारी, लुम्बिनी प्रदेश समिति, निर्वाचन समिति, युनियनका अग्रज नेता लगायतलाई आभार व्यक्त गरेको छ ।
यसैगरी नवनिर्वाचित पदाधिकारीले सोमबार नै पदभार ग्रहण गरेका छन् । निर्वाचन समिति संयोजक केशवराज कोइरालाले निर्वाचित पदाधिकारी, प्रदेश र संघीय प्रतिनिधि परिषदलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
युनियनका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मुक्तिबाबु रेग्मी, युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी, युनियनका पूूर्वकेन्द्रीय सदस्य उमा थापा, युनियन बाँकेका पूर्वअध्यक्ष जयनारायण शाह र अर्जुन ओली, नेपाली काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतम लगायतको उपस्थितप् रहेको थियो ।
सो क्रममा केन्द्रीय प्रतिनिधि रेग्मीले युनियन बाँकेले सर्वसम्मत कार्यसमिति चयन गरेर अन्य शाखालाई सकारात्मक सन्देश प्रवाह गरेको बताए । कार्यक्रमका अध्यक्ष प्रियास्मृत ढकालले आफुले सक्दो रचनात्मक कार्य गर्ने प्रयास गरेको बताए । तीन वर्षे कार्यकाल आफुलाई पनि धेरै कुराको सिकाई भएको बताउँँदै नवनिर्वाचित अध्यक्ष कमल खत्रीलाई पद हस्तान्तरण गरेका थिए । साथै उनले निर्वाचित टिमले अझ बढी रचनात्मक कार्य गर्न सकोस् बनेर शुभकामना दिएका थिए ।