नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले संगठनलाई चलायमान बनाउन आवश्यक छलफल तथा परामर्शको कार्यलाई अगाडी बढाएको छ । युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले संगठनलाई निरन्तर रुपमा चलायमान बनाउन आइतबार संगठनका पूर्वअध्यक्ष तथा अग्रजहरुसँग आवश्यक छलफल तथा सुझाव संकलन गरेको हो ।
युनियन बाँकेका अध्यक्ष कमल खत्रीको अध्यक्षतामा भएको छलफल तथा परामर्श कार्यक्रममा युनियनलाई सांगठनिक रुपमा बलियो बनाएर जानुपर्ने बताए । बक्ताहरुले युनियन बाँकेले देशभरीमै शाखाहरूमध्ये राम्रो काम गरिरहेको प्रशंसासंगै थप सशक्त भएर अघि बढ्नुपर्ने र त्यसका लागि कार्ययोजना बनाएर जानुपर्ने सुझाव दिए । युनियनमा आवद्ध पत्रकार व्यवसायिक पत्रकारितामा अग्रसर हुन जरुरी रहेको र त्यसका साथै उनीहरुलाई आवश्यक क्षमता विकास, व्यवसायिक तालिम, सामाजिक सञ्जालको प्रयोग जस्ता विषयमा प्रशिक्षण चलाउनुपर्नेमा जोड दिए ।
छलफलमा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, वरिष्ठ पत्रकार विजय बर्मा, युनियन बाँकेका निर्वतमान अध्यक्ष प्रियास्मृति ढकाल, पुर्वअध्यक्ष अर्जुन ओली, युनियनका पूर्वकेन्द्रीय सदस्य उमा थापामगर, क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष एवम् युनियनका केन्द्रिय पार्षद साबित्री गिरी, केन्द्रिय पार्षद रुपन ज्ञवाली, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य निर्मल आचार्य लगायतले संगठनलाई सशक्त बनाउन महत्वपूर्ण सल्लाह तथा सुझाव दिएको सचिव भिष्म लोधले जानकारी दिएका छन् ।