काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ। खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ। बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रबाट पनि हालसम्म २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरेको छ। दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका स्थानमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पुर्याउने काम भइरहेको छ।
बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धारलाई निरन्तरता दिएको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्य जारी छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको छ।
प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तार कार्यलाई प्राथमिकतामा राखिएको छ। बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति गरेपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न निकाय निरन्तर उद्धार र राहतमा सक्रिय छन्। सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले खोजी कार्यलाई अझै तीव्र पारिएको प्राधिकरणले जनाएको छ।