बाँके(राप्ती सोनारी) :
भोटेकोसी बाढीमा परेर बेपत्ता भएका राप्ती सोनारी-१ कुसुमस्थित खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओली 'ज्ञानु' ले शनिबार घरमै पुगेर खाद्यान्न सहयोग गरेका हुन ।
गत भदौं १० गते रसुवाको भोटेकोसीमा आएको बाढीमा परी हाइड्रो पावरमा मजदुरी गर्ने श्यामबहादुर बेपत्ता भएका थिए । परिवारले चितवन लगायत विभिन्न ठाउँमा पुगेर खोजी गरेपनि उनको अवस्था पत्ता लाग्न सकेन ।
सामाजिक काममा संलग्न हुँदै आएका वडाअध्यक्ष ओलीले पीडित परिवारलाई १६ बोरा चामल, आलु ६० किलो, तेल, प्याज, नुन हस्तान्तरण गरेका थिए । ओलीले करिव ३२ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन । खाद्यान्न सहयोग पाएपछि पीडित परिवारले आफुहरुको पीडामा मल्हम लगाईदिएकोमा वडाअध्यक्ष ओलीलाई धन्यवाद दिए ।
खाद्यान्न हस्तान्तरणका क्रममा वडाअध्यक्ष ओलीसहित रत्नबहादुर भण्डारी, घनश्याम वली, रामबहादुर चौधरी, तारा वली, राप्ती सोनारी-१ का वडाअध्यक्ष यमबहादुर खड्का, राप्ती सोनारी गाउँपालिकाका कार्यपालिका सदस्य यमकुमारी वली, राप्ती सोनारी-१ का वडा सदस्यद्वय भरत बुढाथोकी र निर्मला बिक, दिपक वली लगायत उपस्थित भएका थिए ।
बेपत्ता श्यामबहादुरको परिवारको पीडामा मल्हम लगाउन सहयोग संकलन अभियान पनि थालिएको छ । स्वदेेश तथा विदेशमा रहेका नेपालीले पीडित परिवारलाई सहयोग गरिरहेका छन । पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको छ ।