नेपालगन्ज : नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले १५ औं महाधिवेशनमा केन्द्रिय महामन्त्रीको उम्मेदवार बन्ने उद्घोष गरेका छन् । उनले आसन्न महाधिवेशनमा आफु महामन्त्रीको उम्मेदवार बन्ने गरी पार्टीका नेता तथा कार्यकर्ताहरुसँग सर–सल्लाहमा रहेको स्पष्ट पारे ।
रोल्पाको लिवाङमा शुक्रबार रेडियो मालश्रीको विशेष कार्यक्रम ‘मालश्री संवाद’ मा उनले यस्तो उद्घोष गरेका हुन् । यही असोज १६ देखी १९ गतेसम्म पार्टीको केन्द्रिय महाधिवेशन काठमाडौंमा हुदैछ । प्रदेश सभापति पुनले आफु केन्द्रिय महामन्त्रीमा उम्मेदवार बन्ने इच्छा गरेको र त्यसलाई वर्तमान पार्टी नेतृत्वले उपयुक्त ठान्ने पनि विश्वास गरे ।
‘म पार्टीको तल्लो तहमा रहँदा पनि काम गर्नलाई नेतृत्वको विश्वासका साथ ठुलो मौका र अवसर पाएको हुँ, देशभरका साथीहरुले अमरसिंह पुन को हो ? भनेर चिन्नु भएकै छ,’ उनले भने, ‘साथीहरुले मलाई महामन्त्रीको रुपमा अवश्य पनि देख्नुहुनेछ, मलाई महामन्त्री बनाउन त्यो खालको सहयोग पनि गर्नुहुनेछ ।’
प्रदेश सभापति पुनले अगाडी थपे, ‘अमरसिंह पुनको कार्यक्षमता र लगनशिलता सबै साथीहरुलाई थाहा छ, देश र विदेशबाट आउनु हुने ७ हजार बढी महाधिवेशन प्रतिनिधि ज्यूहरुले मलाई विश्वास गर्नुहुनेछ ।’ आफु महामन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टीको संस्थागत विकासमा विशेष रुपले ध्यान दिने बताए । ‘आफुलाई केन्द्रविन्दुमा राखेर भन्दापनि आम नेपाली नागरिकलाई केन्द्रविन्दुमा राखेर मैले जिम्मेवारी निभाउनेछु,’ उनले अगाडी थपे ।
अर्को प्रसंगमा कांग्रेस नेता पुनले निर्वतमान सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा सबैको अभिभावक भएको बताए । ‘आदरनीय नेता शेरबहादुर देउवामा अभिभावक बनेर बस्ने बेलामा पार्टी फुटाएर जानुहुन्छ भन्ने लाग्दैन, अहिलेको परिस्थिती उमेर र समयको अवस्थाले गर्दा पार्टीको अभिभावक बनेर बस्नुहुन्छ,’ उनले भने, ‘शेरबहादुर देउवालाई विवादित बनाउने काम कसैले गर्नु हुदैन, उहाँ भनेको सबैको अभिभावक हो, लामो समय इतिहास बोकेको ब्यक्ति हो ।’
आम नेपाली नागरिकले कांग्रेस बलियो भएको देख्न चाहेको नेता पुनको धारणा छ । पार्टीको आसन्न महाधिवेशनमा सहभागी हुन उनले सबैलाई आग्रह पनि गरेका छन् ।