नेपालगन्ज : यही असोज १८ गतेदेखि काठमाडौंमा सूरु हुन लागेको नेपाली कांग्रेसको १५औं महाधिवेशनमा संविधानसभा सदस्य मैकुलाल वाल्मिकीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
नेपालगन्जमा पत्रकारसँग भेटघाट गर्दै नेता वाल्मिकीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताए । बाँके क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि नेता वाल्मिकीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बताएका हुन ।
‘पार्टी अहिले नयाँ सोचका साथ अगाडी बढिरहेको छ, गगन थापाको नेतृत्वमा कांग्रेसले जेन्जी युवा देखि लिएर अनुभव प्राप्त नेताहरुलाई सँगै जोडेर पार्टीलाई बलियो बनाउने अभियानमा अगाडी बढेको छ, कांग्रेसको लागि यो आम राम्रो पक्ष हो, मैले पार्टीमा गरेको लगानी र योगदानको मुल्यांकन गर्दै आम कार्यकर्ताले केन्द्रीय सदस्यमा निर्वाचित गराउनु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
केन्द्रमा निर्वाचन गर्न देशभरबाट आएका महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेको नेता वाल्मिकीले बताएका छन। वाल्मिकी यसअघि कांग्रेसको १४औं महाधिवेशनमा वाल्मिकी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
को हुन नेता वाल्मिकीः
२०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित वाल्मिकी बाँकेका प्रभावशाली राजनीतिज्ञ हुन । २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर योगदान गर्नु भएका वाल्मिकी २०६२/२०६३ सालको जनआन्दोलनको क्रममा सुरक्षाकर्मीबाट यातना भोगेका थिए । नेपाली कांग्रेसको वडा देखि केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारीमा रहँदा नेता वाल्मिकीले प्रभावशाली काम गरेका छन ।
नेपालगन्जबाट राजनीति यात्रा सुरु गर्नु भएका वाल्मिकीले वडा सचिव, नगर सचिव, जिल्ला प्रशिक्षण विभाग प्रमुख, नेपाली कांग्रेसका भातृ संस्था दलित संघको संस्थापक सदस्य भएर जिम्मेवारी निर्वाह गरेका वाल्मिकीले बाँके जिल्लालाई पार्टीको केन्द्रीय राजनीतिसँग जोड्ने, कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने र पार्टी संगठन चुस्त बनाउन योगदान गरेका छन ।
नेपालगन्ज हेल्थ क्याम्पसको संचालक वाल्मिकीले बाँकेमा पश्चिम नेपालकै ठुलो नेपालगन्ज आयुर्वेद अस्पताल समेत संचालन गरेका छन । त्यस्तै वाल्मिकीले नेपाल सरकारको महिला तथा बालबालिका समिति सदस्य, नेपाल सरकारको स्वास्थ्य समिति संयोजकको रुपमा काम गरेका थिए ।