पोखरा : दर्जन मुलुकका नेपालस्थित दूतावासका राजदूतसहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारी पोखरा पुगेका छन् । उनीहरु आइतबार दिउँसो पोखरा पुगेका हुन् ।
दुईदिनसम्म उनीहरु पोखरामै बस्नेछन् । पोखरा बसाईका क्रममा विभिन्न पर्यटकीय गतिविधिमा रमाउनेछन् । पोखरा आसपासका क्षेत्रको छोटो दूरीको हाइकिङ समेत गर्नेछन् । विश्व पर्यटन दिवसको अवसर पारेर ती विदेशी कूटनीतिक पाहुनालाई पोखरा निम्त्याइएको हो ।
विश्व पर्यटन दिवसको अवसर पारेर सोमबार यहाँ विभिन्न कार्यक्रम आयोजना गरिएको छ । कूटनीतिक निकायका ती पाहुनाले पोखरामा विश्व पर्यटन दिवसको अवसरमा हुने कार्यक्रममा समेत सहभागिता जनाउनेछन् । नितान्त घुमफिरका लागि मात्र राजदूत सहित विकास साझेदारका उच्च पदस्थ पदाधिकारीलाई पोखरा बोलाईएको गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बताए ।
उनका अनुसार यूएइ, कतार, फिनल्याण्ड, कोरिया, साउदी अरब, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, इजिप्ट लगायतका मुलुकका राजदूत पोखराको भ्रमणमा पुगेका छन् । त्यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव पनि यही टिममा छन । त्यस्तै यूएनका नेपालस्थित प्रतिनिधि पनि यही भ्रमणमा छन् ।
विकास साझेदार इसिमोड, यूनेस्को, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) लगायतका निकायका पदाधिकारी रहेका रहेका छन् । त्यसबाहेक सरकारका केही उच्च पदस्थ पदाधिकारी पनि समुहमा सहभागी छन् ।