नेपालगन्ज : नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा सोमबार राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले जित हासिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकीले ब्राइटल्यान्ड स्कुललाई सहजै ११–१ ले पराजित गर्यो ।
राम जानकीको तर्फबाट महेश बि.क. ले ह्याट्रिक गरे । उनले खेलको ११ औं, ४० औं र ४७ औं मिनेटमा गोल गरेका थिए । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४ औं र ३२ औं मिनेटमा गोल गरे । टोलीका लागि अनिल कुमार मगरले २५ औं र ३४ औं मिनेटमा गरी दुई गोल गरे ।
रामजानकीका लागि रिजन कठायतले २० औं मिनेट र गणेश आलेले २६ औं मिनेटमा गोल गरे । ब्राइटल्याण्डको तर्फबाट ३ मिनेटमा एउटा आत्मघाती गोल भयो । रामजानकीका खेलाडीले ४५ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
खेलमा ह्याट्रिक गोल गरेका रामजानकीका महेश खेलको म्यान अफ द म्याघ घोषित भए । बिकलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्वराष्ट्रिय खेलाडी तेजबिक्रम शाह र ठुली भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खड्काले पुरस्कृत गरे ।
यस्तै सोमबार नै भएको अर्को खेलमा लक्ष्मी माबिले एबीसी रेसिडेन्टल स्कुललाई ३–२ ले पराजित गर्यो । उक्त खेलमा लक्ष्मीका आर्यन केसीले १३ औं र २३ औं मिनेटमा गरी दुई गोल तथा अभिनन्दन शाहीले ३६ औं मिनेटमा १ गोल गरे । एबीसीका लागि सुजन ओलीले २ औं मिनेट र ८ औं मिनेटमा गोल गरेका थिए । खेलमा लक्ष्मीका आर्यन म्यान अफ द म्याच घोषित भए । उनलाई संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पुरस्कृत गरेका थिए ।
यसैगरी तेस्रो खेलमा सुर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गर्यो । सुर्योदयको जितमा सम्राट सुनारले ३२ औं र ५४ औं मिनेटमा गोल गरे । टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४० औं मिनेटमा गोल गरेका हुन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित भए । बुढालाई नेपाल ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमारसिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गरेका थिए । बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको उक्त प्रतियोगितामा २८ वटा छात्र टिमको सहभागिता रहेको छ ।