बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिका स्तरिय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखी सुरु भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित रंगशालामा बुधबार एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।
उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले गरेको गाउँपालिकाले जनाएको छ । आगामी तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सञ्चालन हुने बताइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको जिकिर गरे । यस्तै गाउँपालिका उपाध्यक्ष श्रीवस्तवले ग्रामिण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताइन् ।
खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सिमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरेर खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाले उल्लेखनीय भूमिका खेलेको उनले बताइन् ।
उक्त कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाह, वडा नम्बर २ का वडाअध्यक्ष मसूद अहमद शाह, वडा नम्बर ३ का वडाअध्यक्ष अजय मिश्र, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी र जिन्सी शाखा प्रमुख भरत महत्तो लगायतको सहभागिता रहेको शिक्षक सज्जक खानले जानकारी दिए ।
उक्त कार्यक्रममा बिद्यार्थीहरुले मार्च पास गर्दै उपाध्यक्ष श्रीवास्तवलाई सलामी अर्पण गरेको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको प्रमुख प्रशिक्षकमा चन्द्र गुरुङ र जनक केसी रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्रधानाध्यक, बिद्यार्थी लगायतको पनि सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयको सहभागिता रहेको बताइएको छ । प्रतियोगिता स्थानीय स्तरमै आयोजना गर्न थालिएपछि गाउँ गाउँमा खेलकुदको ‘क्रेज’ बढेको प्रशिक्षकहरु बताउँछन् ।