नेपालगन्ज : ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि कोहलपुर नगरपालिकाले जित्न सफल भएको छ । योसंगै लगातार तीनपटक शिल्ड जित्दै कोहलपुरले ह्याट्रीक गर्न सफल भएको हो ।
कोहलपुरले यसअघि लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितिसकेको छ । यो जितसंगै जिल्ला राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोहलपुरले ह्याट्रीक गर्न सफल बन्यो । प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका एक हजार खेलाडीबीच ६ वटा विधाका खेलमा प्रतिस्प्रर्धा गराइएको थियो ।
कोहलपुरले समग्र ३६ गोल्ड, ९ सिल्भर र ५ ब्राउन्ज मेडल जित्दै रनिङ शिल्डको उपाधिमा ह्याट्रीक गर्न सफल भएको हो । यस्तै दोस्रो भएको राप्तीसोनारी गाउँपालिकाले १३ गोल्ड, १७ सिल्भर र २० ब्राउन्ज मेडल प्राप्त गर्न सफल भयो ।
तेस्रो स्थानमा नेपालगन्ज उपमहानगरपालिकाले चित्त बुझाउन पुग्यो । नेपालगन्जले कुल ७ गोल्ड, ६ सिल्भर र ६ ब्राउन्ज मेडल जित्न सफल भएको हो । यसैगरी चौथो स्थानमा चित्त बुझाएको बैजनाथ गाउँपालिकाले ६ गोल्ड, १४ सिल्भर र १५ ब्राउन्ज मेडल प्राप्त गरेको छ ।
![Runnig Sild Final Photo 21707751888.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 21707751888.jpg)
प्रतियोगितामा ३ गोल्ड, ५ सिल्भर र ३ ब्राउन्ज सहित पाँचौ स्थानमा खजुरा गाउँपालिका, नरैनापुरले एक गोल्ड र जानकीले २ सिल्भर मेडलमा चित्त बुझाउनु परेको छ । रनिङ शिल्डको उपाधि विजेता कोहलपुरले एथलेटिक्सतर्फ ३ गोल्ड,५ सिल्भर र ३ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक सिल्भर, कबड्डीमा २ ब्राउन्ज, कराँतेमा ८ गोल्ड, ३ ब्राउन्ज, तेक्वान्दोमा १२ गोल्ड तथा उसुमा १२ गोल्ड जित्न सफल भएको हो । उसुमा कोहलपुर बाहेक कुनैपनि पालिकाले सहभागिता जनाएका थिएनन् ।
रनिङ शिल्डको उपविजेता बनेको राप्तीसोनारीले एथलेटिक्सतर्फ १२ गोल्ड,७ सिल्भर र ९ ब्राउन्ज, भलिबलतर्फ एक गोल्ड एक ब्राउन्ज, कबड्डीमा शून्य, कराँतेमा २ सिल्भर र ७ ब्राउन्ज, तेक्वान्दोमा ८ सिल्भर र ३ ब्राउन्ज जित्न सफल भएको हो । यस्तै रनिङ शिल्डको तेस्रो स्थान प्राप्त गर्न सफल नेपालगन्ज उपमहानगरपालिकाले एथलेटिक्सतर्फ ६ गोल्ड, ५ सिल्भर र ६ ब्राउन्ज, भलिबलतर्फ शून्य, कबड्डीमा एक गोल्ड एक सिल्भर जित्न सफल भएको हो ।
![Runnig Sild Final Photo 31707751889.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 31707751889.jpg)
यसैगरी उत्कृष्ट खेलाडीतर्फ एथलेटिक्स छात्रतर्फ राप्तीसोनारीका करण नेपाली, उत्कृष्ट छात्रातर्फ नेपालगन्जका आरुषि भट्टराई, भलिबल छात्रतर्फ कोहलपुरका संगम तारामी मगर, भलिबल छात्रातर्फ राप्तीसोनारीकी लक्ष्मी चौधरी हुन सफल भइन् । यस्तै उत्कृष्ट खेलाडी कबड्डी छात्रातर्फ खजुराकी सुषमा बादी र छात्रतर्फ नेपालगन्जका इसरारर अलि साई, तेक्वान्दो छात्रातर्फ कोहलपुरकी दिपशिखा रानाभाट, छात्रतर्फ कोहलपुरकै सुर्वण सिग्देल हुन सफल भए ।
यसैगरी उत्कृष्ट खेलाडी कराँते छात्रातर्फ बैजनाथकी वविता बिक, छात्रतर्फ कोहलपुरका शुभम बुढा तथा उसु छात्रातर्फ कोहलपुरकी गरिमा चौधरी र छात्रतर्फ कोहलपुरकै टार्जन रोकामगर हुन सफल भए । शनिबारबाट सुरु भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी मार्चपासमा बैजनाथ गाउँपालिका प्रथम, नेपालगन्ज दोस्रो र राप्ती सोनारी गाउँपालिका तेस्रो हुन सफल भएको जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
विजयी खेलाडी तथा पालिकालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदीपजंग शाह, प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सांसद माया पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्कीले, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, एमालेका मिनबहादुर मल्ल, जिल्ला खेलकुद विकास समिति बाँकेका पुर्वअध्यक्ष आतंक बस्नेत र मोहित शाह, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपाल प्रेस युनियनका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतले प्रमाणपत्र, मेडेल तथा ट्रफी वितरण गरेका थिए ।
समितिका अध्यक्ष शाहले प्रतियोगिता सम्पन्न गराउन उल्लेख्य भूमिका खेल्नेलाई मायाको चिनो प्रदान गर्दै धन्यबाद ज्ञापन गरे । अध्यक्ष शाहका अनुसार जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउने छन् । बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थान सहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।
![Runnig Sild Final Photo 81707751894.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 81707751894.jpg)
![Runnig Sild Final Photo 41707751890.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 41707751890.jpg)
![Runnig Sild Final Photo 51707751892.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 51707751892.jpg)
![Runnig Sild Final Photo 61707751893.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 61707751893.jpg)
![Runnig Sild Final Photo 91707751899.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 91707751899.jpg)
![Runnig Sild Final Photo 71707751894.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 71707751894.jpg)
![Runnig Sild Final Photo 101707751900.jpg](https://www.dursanchar.com/uploads/posts/Runnig Sild Final Photo 101707751900.jpg)