बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिकाले वडा नम्बर ३ मा ऐलानी जग्गा नापजाँचको काम सम्पन्न गरेको छ । भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नका लागि उक्त वडामा नापजाँचको काम सुरु गरेको थियो । राप्ती सोनारीको वडा नम्बर ३ मा जग्गा नापजाँचको काम सम्पन्न भइसकेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए ।
‘हाम्रो यहाँ वडा नम्बर ३ मा नापजाँचको काम सम्पन्न भईसकेको छ, वडा नम्बर ४ मा पनि अन्तिम चरणमा पुगेको छ, अबको १०/१५ दिनमा सम्पन्न हुन्छ,’ अध्यक्ष पौडेलले दूरसञ्चारसँग भने ‘वडा नम्बर ७ मा पनि नापजाँचको धेरै काम भईसकेको छ ।’ राप्ती सोनारीको ९ वटै वडामा लगत लिएर तथ्यांक संकलनको काम भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ ।
राप्ती सोनारीमा भूमिहिन दलित, भूमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोवासीको समस्या बर्षौ अघिदेखीको रहेको भन्दै अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा जसरी पनि लालपुर्जा वितरण गर्ने अभिप्रायका साथ राष्ट्रिय भूमि आयोग बाँकेसँग समन्वय गरेर काम अगाडी बढाइएको बताए ।
आयोग बाँकेका अध्यक्ष सर्वणकुमार यादवले वर्षौदेखी भोग चलन गर्दै आएको जग्गाको नाँपजाँच गरेर राप्ती सोनारीमा लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए । ‘राप्ती सोनारीमा पनि आयोगको काम तीब्र गतिमा अगाडी बढेको छ, चालु आर्थिक वर्ष भित्रै जनतालाई लालपुर्जा वितरण गर्ने कोशिस हुदैछ ।’ राप्ती सोनारीको ३ वटा वडामा अहिले नापजाँचको काम चलिरहेको अध्यक्ष यादवले बताए ।
![Rapti Sonari 31710993977.jpg](https://www.dursanchar.com/uploads/posts/Rapti Sonari 31710993977.jpg)
राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’ले गाउँपालिकाको ३ वटा वडामा जग्गा नापजाँचको काम चलेको र वडा नम्बर ३ मा सम्पन्न पनि भईसकेको सुनाए । वडा नम्बर ४ मा करिव ८० प्रतिशत काम सम्पन्न भईसकेको उनले बताए ।
नापजाँचका लागि प्राविधिक टोली अब वडा नम्बर ५ र ६ मा जाने तयारीमा रहेको प्रवक्ता खड्काले जानकारी दिए । ‘अब लगत्तै वडा नम्बर ५ र ६ मा नापी टोली जाने तयारीमा छ,’ उनले भने ‘तत्कालिन अवस्थामा राप्ती सोनारीको वडा नम्बर १, २, ८ र ९ मा भने निकुञ्जका कारण नापजाँच नहुने भएको छ ।’ राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मिनकुमार थारुले वडा नम्बर ३ मा नापजाँचको काम सम्पन्न भइसकेको बताए । 'केही विवादित दुई चार जनाको छुटेको छ, हाम्रो वडामा बाँकी सबै काम सम्पन्न भईसकेको छ,' उनले भने ।