नेपालगन्ज : पश्चिम नेपालको ऐतिहासिक तथा व्यापारिक केन्द्र नेपालगन्जको समृद्धिका लागि एकीकृत गुरुयोजना, सुशासन, खेलकुद, पर्यटन प्रवद्र्धन क्षेत्रको विकास र दुरदर्शी साहसिक नेतृत्व अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् । कालपृष्ठ दैनिकको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘नेपालगन्जको समृद्धिका सम्भावनाहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले समृद्धिको योजनालाई कार्यान्वयन गराउन सक्ने नेतृत्वको अभाव भएको बताएका हुन् ।
संघीयताको कार्यान्वयन पश्चात नेपालगन्जले थुप्रै चुनौतिको सामना गरिरहेको अवस्थाको चर्चा गर्दै सहरलाई चलायनमान बनाउन दुरदर्शी नेतृत्वको खाँचो रहेको महशुस गरिएको छ । कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्माचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ, पत्रकार, व्यवसायी तथा सामाजिक क्षेत्रका प्रतिनिधिले नेपालगन्जको समृद्धिका चुनौती र सम्भावनाबारे विस्तृत चर्चा गरे ।
व्यवसायी बिनोद अग्रहरीले इमान्दारिताको पत्रकारिता गर्दा हाल आर्थिक उपार्जनमा कठिन चुनौती खडा भएको बताए । सञ्चार क्षेत्रमा देखिएको अप्ठ्यारो परिस्थितिलाई सम्बोधन गर्न सामूहिक पत्रकारितालाई प्रोत्साहन गर्दै यस पेशामा नयाँ पुस्ताको आकर्षण कायम राख्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै बक्ताले सही र सत्य सूचना प्रवाहले मात्र यस क्षेत्रको पर्यटकीय गतिविधि र आर्थिक विकासलाई प्रत्यक्ष सहयोग पुर्याउने धारणा राखेका थिए ।
नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले स्वदेशी उत्पादनको खरिद–बिक्री तथा प्रवद्र्धन गर्ने वातावरण बनाउन मिडियाले पुलको भूमिका खेल्नुपर्ने बताए । सुशासन, सहरी विकास र समृद्धिको गुरुयोजना आवश्यक रहेको बताउँदैं लुम्बिनी प्रदेश सरकारको पुर्व वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बासिन्दाको लागि नेपालगन्जमै उच्च शिक्षा तथा पीएचडी अध्ययनको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
सहरी विकास द्रुत गतिमा भइरहे पनि यसको दीर्घकालीन निकासको बाटो पहिल्याउन सके मात्र राप्ती र आसपासको क्षेत्र समृद्ध हुने उनको भनाई थियो । कालपृष्ठ दैनिकले आर्थिक समृद्धिसँग जोडिएको सहकारी क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको धन्यवाद दिदैं आर्थिक विकासको लागि स्थानीय सहरले स्पष्ट योजना बनाएर अगाडी बढनु पर्ने बताए ।
नेपालगन्ज म्याराथनका संस्थापक टी.एस ठकुरीले ‘नेपालगन्ज म्याराथन’ले सहरको पहिचान बदल्ने एक प्रमुख गेम चेन्जर आयोजना बन्ने सम्भावना रहेको उल्लेख गरे । सुशासनको क्षेत्रमा क्रियाशिल अभियन्ता नमस्कार शाहले संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणले नेपालगन्ज केही पछाडि परेको महसुस भएको बताए ।
नेपालगन्जलाई चिनाउने ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूको व्यापक प्रचार–प्रसार गर्दै, गुरुयोजना बनाएर, सुशासन कायम गरी सुरक्षित सहर निर्माण गर्न सके मात्र नेपालगन्ज पर्यटन, व्यापार, शिक्षा र स्वास्थ्यको बलियो हब बन्न सक्ने उनले स्पष्ट पारे । नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपालगन्जको मुख्य पहिचान नै शिक्षा, स्वास्थ्य र खेलकुद रहेको भन्दै विद्यमान समस्याहरू समाधान गर्न सबै राजनीतिक दल र नागरिक समाज ऐक्यबद्ध हुनुपर्ने बताए ।
नेपालगन्जको समृद्धिको सम्भावनाको बारेमा छलफल गर्नको लागि साझा चौतारी (फोरम) र सहकार्यको खाँचो आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए । नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओलीले नेपालगन्जवासीमा आपसमा जुट्नुको साटो फुट हुने प्रवृत्तिका कारण सोचेजस्तो समृद्धि हुन नसकेको टिप्पणी गरे ।
नेपालगन्जको विकासका लागि सबै क्षेत्र अट्ने एक ‘साझा चौतारी’को खाँचो रहेको र यस सहरलाई जोगाउने तथा समृद्ध बनाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको उनले बताए । साहित्यकार एवम् उद्यमी ऋचा लुइटेलले प्रत्येक नागरिक र व्यवसायीले आफ्नो कर्म इमान्दारिताका साथ पूरा गरेमा मात्रै सहरको समृद्धि सम्भवना बढने बताइन् ।
नेपाल उद्योग वाणिज्य संघका पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेकपाका नेता नविन शर्मा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिव दिपक शाही, होटल व्यवसायी संघ बाँके अध्यक्ष भीम उपाध्याय कँडेल, नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान महासचिव भीम रानाभाट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका जेन्टल गौतम, नाटा बाँके अध्यक्ष डिल्ली रेग्मी, शिक्षाविद्ध किरण आचार्य लगायतले आर्थिक गतिविधि चलायमान बनाउन राजनीतिक नेतृत्वमा पारदर्शिता र स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिए ।
सहरी ब्रान्डिङ र पर्यटकीय सम्भावना
नाट्टा बाँकेका पुर्व अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटकीय प्रवद्र्धनको लागि ‘सिटी ब्रान्डिङ’ को रणनीति तत्काल लागु गर्नुपर्ने बताए । यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने उनले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघले अभिभावकीय नेतृत्व लिनुपर्ने उनको सुझाव थियो ।
कार्यक्रमका वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटरले समृद्धिको लागि पहिले नगरवासीको चेतना स्तर फराकिलो हुनुपर्ने बताए । समृद्धिको लागि नेपालगन्जको चिल्ला र चौडा सडकजस्तै मानसिकता पनि फराकिलो बनाउनु पर्नेमा उनको जोड रहेको थियो । नेपालगन्जका पुर्व मेयर वरिष्ठ अधिवक्ता विजय गुप्ताले लाखौंका संरचना बने पनि रंगशालाको उचित र पूर्ण प्रयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे । नेपालगन्जको समृद्धिसँग जोडिएको नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने योजना कार्यान्वयनमा सधै अबरोध आउने गरेको उनले बताए ।
अर्थतन्त्र, प्रविधि र सोचको रूपान्तरण हुनुपर्ने उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । पर्यटकीय व्यवसाय र साना–ठूला उद्योगबाट नै आर्थिक उपार्जन बढाउन सकिने उल्लेख गर्दै संघीयताको मर्म अनुसार आर्थिक गतिविधि अघि बढाउनुपर्ने उनको जोड थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समृद्धिका योजनाहरू कागजमा मात्र सीमित नराखी तिनको व्यावहारिक कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच बलियो हातेमालो आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले समृद्धिको सपना पुरा गर्न व्यवसायिक पत्रकारिताको विकास हुन जरुरी रहेको बताए । कालपृष्ठ दैनिकका पुर्व सम्पादक झलक गैरेले कालपृष्ठ दैनिकको काम गर्दाको अनुभव सुनाएका थिए । संस्थापक हेमन्त कर्माचार्यले सहरलाई चलायनमान बनाउँदैं समाजको समृद्धिका विषयमा कालपृष्ठले प्राथमिकता दिएर काम गर्ने बताए ।