नेपालगन्ज : नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा मैत्रीपुर्ण फुटसल सम्पन्न गरिएको छ । युनियन बाँके शाखाले आयोजना गरेको फुटसलमा प्रेस युनियन सम्बद्ध महिला पत्रकार र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघसँग आवद्ध महिला उद्यमीले प्रतिस्पर्धा गरे ।
स्थानीय बागेश्वरी फुटसल एण्ड स्पोटर््स हबमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकारको टिमले १-१ गोल गरेका थिए । महिला पत्रकार तर्फबाट साबित्री गिरीले गोल गरेका थिए भने महिला उद्यमीका तर्फबाट मिना चौधरीले गोल गरिन् ।
यसैगरी पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेमा आवद्ध स्वास्थ्यकर्मीबीचको मैत्रीपुर्ण फुटसलमा स्वास्थ्यकर्मीले पत्रकार टिमलाई ७–० गोलले हराए । स्वास्थ्यकर्मीको तर्फबाट डा.शिविन साहुले २ गोल, डा. शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गोल गरे । फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गरेका थिए । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत गरेका थिए ।
सो क्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, युनियनका लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, निर्वतमान जिल्ला सचिव विजय मल्ल, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष सावित्रा बस्नेत लगायतको सहभागिता रहेको थियो । युनियन स्थापना दिवसकै अवसरमा आइतबार पत्रकारहरुको मृगौला परिक्षण गर्न लागिएको सचिव भिष्म लोधले जानकारी दिए ।